लन्डन । युकेमा सक्रिय सामाजिक संस्था नेप्लिज ब्रिटिस कम्युनिटी (एनबीसी) यूकेले अपांगता भएका बालबालिकाको सहयोगार्थ नयाँ वर्ष २०८३ को अवसरमा ‘शुभकामना साँझ’ आयोजना गर्न लागेको छ ।
सांस्कृतिक र सामुदायिक सद्भावलाई प्रोत्साहन गर्ने उद्देश्यले आयोजना गरिने उक्त कार्यक्रमले नेपाली समुदायलाई एकै स्थानमा भेला भई रमाइलो गर्ने अवसर प्रदान गर्ने आयोजकले जनाएको छ ।
आगामी अप्रिल १२, २०२६ (आइतबार) का दिन ब्लु रुम, २२० हेडस्टोन लेन, ह्यारोमा आयोजना हुने कार्यक्रम साँझ ५:३० बजेदेखि राति ११ बजेसम्म सञ्चालन हुनेछ। कार्यक्रमका प्रमुख आकर्षण रोचक गीत संगीत, नृत्य तथा विविध सांस्कृतिक प्रस्तुतिहरू रहने छन् ।
कार्यक्रममा सहभागीहरूले लाइभ म्युजिक, डिजे तथा नृत्य सत्र, समूहगत सांस्कृतिक प्रस्तुति लगायतका आकर्षक मनोरञ्जनको आनन्द लिन सक्नेछन् । साथै, कार्यक्रमले परिवार तथा साथीभाइसँग भेटघाट, संवाद र सहभोजमार्फत समुदायबीचको सम्बन्ध अझ सुदृढ बनाउने अपेक्षा गरिएको एनबीसी यूकेका अध्यक्ष समीर नाथ प्याकुर्यालले बताए ।
कार्यक्रममा १३ वर्षमाथिका सहभागीका लागि ४० पाउन्ड तथा ५ देखि १२ वर्ष उमेर समूहका बालबालिकाका लागि २० पाउन्ड शुल्क तोकिएको छ । सिट अनलाइनबाट नै बुकिङ गर्न सकिनेछ ।
एनबीसी यूकेले यस कार्यक्रममार्फत संकलित रकमबाट बचत हुने राशि नेपालस्थित चन्द्रागिरि नगरपालिका–१४, नैकापमा रहेको ‘सृजनशील विशेष शिक्षा विद्यालय’ लाई सहयोग गर्ने जनाएको छ । उक्त विद्यालयले अपांगता भएका बालबालिकाको शिक्षा तथा विकासमा योगदान पुर्याउँदै आएको छ ।
आयोजकका अनुसार कार्यक्रममा सहभागी भई नयाँ वर्ष मनाउनुका साथै विशेष आवश्यकता भएका बालबालिकाको शिक्षामा सहयोग पुर्याउने अवसर समेत प्राप्त हुने भएकाले समुदायलाई सक्रिय सहभागिताका लागि आह्वान गरिएको छ ।