लन्डन । बेलायतको अल्डरसटमा सञ्चालित सुनचाँदी पसल ‘दीप ज्वेलरी’ले पछिल्लो १३ वर्षदेखि ग्राहकको विश्वास र मायालाई निरन्तर कायम राख्दै आएको छ । नेपाली मौलिक र आधुनिक डिजाइनका गरगहना प्रस्तुत गर्दै आएको पसल स्थानीय नेपाली समुदायमाझ लोकप्रिय छ ।
दीप ज्वेलरीका सञ्चालक प्रेम विश्वकर्मा पोखरा महानगरपालिका–१० निवासी हुन् । पुर्ख्यौली थलो पर्वत भए पनि उनी पोखरामै हुर्किए । प्राथमिक शिक्षा पोखराको रामबजारस्थित वनपाले विद्यालयबाट हासिल गरे । अमरसिंह माध्यमिक विद्यालयबाट उच्च शिक्षा तथा पृथ्वीनारायण क्याम्पसबाट २०३८ सालमा डिप्लोमा अध्ययन सम्पन्न गरेका थिए ।
अध्ययनपछि उनी आफ्नो पुर्ख्यौली पेसालाई निरन्तरता दिँदै सुनचाँदी व्यवसायमा लागेका हुन् । सोही क्रममा सन् २०१३ देखि अल्डरसटमा दीप ज्वेलरी सञ्चालनमा ल्याएर उनले विदेशमा बसेर पनि नेपाली गहनाको पहिचान जोगाइरहेका छन् ।

पसलमा सबै प्रकारका गरगहना उपलब्ध रहेको उनले बताए । ‘हामीकहाँ नेपाली मौलिक गहनासँगै आधुनिक डिजाइनका गहना पनि पाइन्छन्,’ उनी भन्छन्, ‘ग्राहकको विश्वास र मायाले नै यहाँसम्म आइपुगेका छौँ ।’ धेरैजसो गहना आफैले निर्माण गर्ने गरेको र आवश्यक परेमा नेपाल, हङकङ तथा दुबईबाट समेत गहना आयात गर्ने गरेको उनको भनाइ छ ।
व्यवसायबाट आफू सन्तुष्ट रहेको उनी बताउँछन् । अल्डरसटस्थित पसल श्रीमतीसँग मिलेर सञ्चालन गर्दै आएका छ । पोखराको रामबजारमा पनि यही नामबाट उनको सुनचाँदी पसल सञ्चालनमा छ । उक्त पसल भने कान्छा छोरा दिनेशले सञ्चालन गरिरहेका छन् ।
पसलको नाम भने जेठा छोरा दीपकको नामबाट राखिएको विश्वकर्माले बताए । विदेशमा रहेर पनि नेपाली सीप, कला र परम्परागत गहनाको संरक्षण तथा प्रवर्द्धनमा योगदान दिन पाउँदा खुसी लागेको उनको भनाइ छ ।