लण्डन । मानव जीवनको गहिरो अर्थ, धर्म, त्याग, सङ्घर्ष र आत्मबोधलाई उजागर गर्ने सत्य कथामा आधारित ऐतिहासिक नाटक “मिलारेपा” साउथ ईष्ट लण्डनमा पनि प्रर्दशन हुने भएको छ ।
गत आइतबार ८ मार्चका दिन सो नाटकका निर्देशक बुद्धि तामाङ्ग तथा नेपाल संयोजक लामा कोशिष वाईबाको बिशेष उपस्थितिमा अल्डरसटमा सफलतापूर्वक प्रर्दशन भएपश्चात भक्तजनहरुको बिशेष अनुरोधमा साउथ ईष्टमा प्रर्दशन गर्न लागिएको हो । निर्देशक तामाङ्ग र लामा वाईबाको बिशेष उपस्थितिमा आउँदो २९ मार्च २०२६ का दिन साँझ ४.३० बजे लण्डन, विलविचस्थित ट्रामसेड हलमा प्रर्दशन गर्ने भएको छ ।
नेपालीहरुको बाक्लो बसोबास रहेको लण्डनको प्लमस्टिड, विलविच, वेलिङ्ग, चाल्टर्नलगायतका क्षेत्रमा बसोबास नेपालीहरुलाई केन्द्रमा राखेर बुद्धिष्ट कम्युनिटी सेन्टर (बीसीसी) युकेले मिलारेपा च्यारिटी शो आयोजना गर्न लागेको हो ।
आरआईओ शुशी फ्रेन्चाईजका छोङ्ग शेर्पा र कैलाश मोमो प्लमस्टिडका तेन्जिङ्ग डक्पाको हल स्पोन्सरमा प्रर्दशन हुन लागिएको सो नाटक नेपाल–तिब्बत सीमावर्ती क्षेत्र क्याङ्त्सामा जन्मिएका महान योगी तथा कवि जेत्सुन मिलारेपाको जीवनकथामा आधारित छ । कालो तान्त्रिक साधनामा संलग्न एक भट्किएको युवाबाट गुरु मार्पा लोचावाको मार्गदर्शनमा कठोर साधना गर्दै आत्मज्ञान प्राप्त गर्ने साधकसम्मको उनको जीवनयात्रा यस नाटकको मुख्य विषयवस्तु हो । यसले मानव जीवनमा परिवर्तन सम्भव छ भन्ने सन्देशलाई अत्यन्त प्रभावकारी र प्रेरणादायी रूपमा प्रस्तुत गर्दछ ।
मण्डला थिएटर नेपालको बिशेष प्रस्तुती रहेको उक्त नाटक चाङ ङोन हेरुकको लेखन, बुद्धि तामाङ र उमेश तामाङको निर्देशन रहेको छ । त्यस्तै, रुपेश लामा, रमिला मोक्तान, विकास लामालगायतका कलाकारहरूको जोडदार अभिनय गरेको छ । साथै, अनि छोइङ डोल्माको स्वर सहितको परम्परागत संगीत प्रस्तुत रहेको छ, जसको संगीत संयोजन सुदीप खतिवडाले गरेका छन् । उनीहरुको सशक्त अभिनयलाई अत्याधुनिक क्यामारा तथा प्रविधिको सहयोगमा छायांकन गरिएको उक्त नाटकलाई हलमा देखाइने कार्यक्रम संयोजक एवं बीसीसी युकेका उपाध्यक्ष क्याप्टेन देब घलेले जानकारी दिए ।
उक्त नाटकको प्रवेश शुल्क वापत २५ पाउण्ड तोकिएको जानकारी गराउदै बीसीसी युकेका अध्यक्ष आङ्गदावा शेर्पाले उक्त नाटक हेर्न इच्छुक महानुभावहरुले बीसीसी युकेको अल्डरसटस्थित गुम्बा वा प्लमस्टिडस्थित कैलाश मोमो र एभरेष्ट प्लमस्टिडबाट लिन सकिने बताए ।
त्यस्तै, “मिलारेपा” नाटक बौद्ध धर्मावलम्बीहरूका लागि मात्र नभई, सर्वसाधारण दर्शकहरूका लागि पनि जीवनको यथार्थ सत्य, धर्मको मर्म, लोभ–क्रोध–अहंकारबाट मुक्त हुने मार्ग तथा आत्ममन्थनको गहिरो अवसर प्रदान गर्नेछ र मिलारेपाको त्याग, पश्चात्ताप र कठोर साधनाले दर्शकलाई आफ्नै जीवनमाथि पुनः सोच्न प्रेरित गर्ने विश्वास आयोजकको रहेको छ ।
उक्त नाटक बेलायतमा प्रस्तुत् गर्न सो नाटकका निर्देशकसँग बिशेष समन्वय गर्न महत्वपूर्ण भूमिका खेल्दै आएका बीसीसी युकेका महासचिव मेजर कुमार गुरुङ, एमभिओले, “मानव जीवनलाई सकारात्मक दिशातर्फ मोड्ने उक्त ऐतिहासिक नाटक हेर्न सम्पूर्ण युकेवासी नेपाली समुदाय, संघ–संस्था, गुम्बा, मन्दिर तथा कला–संस्कृतिप्रेमी दर्शकहरूलाई हार्दिक आग्रह गरेका छन् ।
त्यस्तै, बीसीसी युकेकी आमा प्रमुख शारदा गुरुङले यदी अन्य स्थानहरुबाट पनि अनुरोध गरिएको अवस्थामा सो स्थानहरुमा समेत प्रर्दशन गर्न सकिने बताएकी छन् ।


