लन्डन । पूर्वगोर्खा क्याप्टेन पूर्ण लिम्बू श्रम संस्कृति पार्टीबाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका छन् । हर्क साम्पाङ अध्यक्ष रहेको श्रम संस्कृतिले उनलाई समानुपातिकबाट प्रतिनिधिसभा सदस्य बनाएको हो ।
पूर्वी पहाडी जिल्ला सङ्खुवासभामा जन्मिएका फकल्यान्ड युद्ध भेटेरान रिटायर्ड क्याप्टेन लिम्बूको परिचय यतिमा मात्र सीमित छैन । उनले सामाजिक अभियन्ता, गायक, नायक, चलचित्र निर्माता निर्देशक, संगीतको पारखीका रूपमा समेत परिचय बनाएका छन् ।
सगरमाथा गोर्खा/नेपाली समाज आस्फोर्ड केन्टका निवर्तमान अध्यक्ष डम्मर संगक लिम्बूका अनुसार क्याप्टेन लिम्बूको जीवन यात्रा मुख्यतः सैनिक सेवा, गोर्खा समुदायको कल्याण, समाज सेवा र ऐतिहासिक स्मारक संरक्षणसँग जोडिएको छ । पहाडी ग्रामीण परिवेशमा हुर्केका कारण अनुशासन, मेहनत र सामुदायिक संस्कारले उनको व्यक्तित्व निर्माणमा ठूलो भूमिका खेलेको मानिन्छ । सानैदेखि गोर्खा सैनिक बन्ने सपना बोकेर उनले जीवनको लक्ष्य सैनिक सेवातर्फ केन्द्रित गरे ।
क्याप्टेन लिम्बूले प्रारम्भिक शिक्षा नेपालमै प्राप्त गरेका हुन् । गोर्खा सैनिकमा भर्ती भएपछि विभिन्न सैन्य तालिम पूरा गरे । आफ्नो करियरको एक महत्त्वपूर्ण चरणमा बेलायतको प्रतिष्ठित नव सैन्य प्रशिक्षण संस्थान Infantry Training Centre Catterick मा प्रशिक्षकको रूपमा काम गर्ने अवसरसमेत पाएका थिए । त्यहाँ नयाँ गोर्खा सैनिकहरूलाई नेतृत्व, अनुशासन र आधुनिक सैन्य कौशल सम्बन्धी प्रशिक्षण दिए ।
बेलायती सेनाको प्रसिद्ध गोर्खा इकाई Brigade of Gurkhas मा २८ वर्ष सेवा पूरा गरेका छन् । सेवाकालमा विश्वका विभिन्न स्थानहरूमा सैन्य तथा शान्ति अभियानमा काम गरेका थिए । जस्तै: अफगानिस्तान, बोस्निया, सिएरालियोने, फकल्यान्ड, ब्रुनाई, हङकङ, जर्मनी आदि ठाउँमा तालिम र युद्धहरूमा प्रत्यक्ष रूपमा संलग्न भए ।
यसले नै अन्तर्राष्ट्रिय स्तरको सैन्य अनुभव दिलाउनुका साथै गोर्खा सैनिकहरूको प्रतिष्ठा बढाउन योगदान पुर्यायो । सैनिक सेवाबाट अवकाशपछि The Gurkha Welfare Trust सँग काम गरे । Welfare Officer/Senior Welfare Officer को रूपमा पूर्वगोर्खा सैनिक र उनीहरूको परिवारलाई सहयोग गर्ने काम गरे । भोजपुर, खाँदबारीलगायत क्षेत्रमा काम गर्दै पछि धरानमा Senior Welfare Officer को रूपमा सेवा गरे ।
पारिवारिक रूपमा लिम्बु परम्परागत मूल्य, कर्तव्य र सम्मानलाई महत्त्व दिने वातावरणमा हुर्किएका उनले सैनिक सेवाको लामो समय विदेशमा बिते पनि परिवार र समुदायसँग निरन्तर सम्बन्ध कायम राखेका थिए । सैनिक जीवनबाट अवकाशपछि परिवारसहित नेपालमै सामाजिक सेवामा सक्रिय छन् ।
कोरोना भाइरस महामारीले विश्व नै ग्रसित भएको अवस्थामा जनताको घरदैलोमा पुगी उचित राहत व्यवस्थापनमा खटिए । २०७२ सालमा महाभूकम्पको संकटकालीन परिस्थितिमा पनि विभिन्न सहयोग पुर्याएका थिए । अन्य विभिन्न उत्पीडनमा परेका असक्त, निमुखा र गरिब मानिसहरूको मनोबल उच्च पार्न व्यक्तिगत तवरमा पनि सहयोग गर्न निरन्तर जुटे । यसैको कदर स्वरूप नेपालमा राष्ट्रिय स्तरबाट प्रबल जनसेवाश्री (चतुर्थ) पदकबाट राष्ट्रपति विद्यादेवी भण्डारीको बाहुली बाट सम्मानित भएका थिए ।
सङ्खुवासभा खाम्लिङ गाउँको खानेपानी तथा आधारभूत आवश्यकतालाई सहयोग गर्न चलचित्र ‘नाम्लो’ बनाएर नेपाल, बेलायतलगायत संसारका विभिन्न देशमा प्रदर्शन गरे । धरानस्थित Gurkha Memorial Park को विकास र व्यवस्थापनमा संयोजकका रूपमा काम गरी प्रोजेक्ट सफलताका साथ सम्पन्न गरे ।
पार्कको उद्देश्य गोर्खा सैनिकहरूको इतिहास र बलिदान सम्झनु, नयाँ पुस्तालाई गोर्खा परम्परा चिनाउनु र धरानलाई ऐतिहासिक पर्यटन केन्द्र बनाउनु रहेको छ । क्याप्टेन लिम्बूको जीवन यात्रा पूर्वी नेपालको साधारण गाउँबाट सुरु भएर अन्तर्राष्ट्रिय सैन्य सेवासम्म पुगेको प्रेरणादायी कथा हो । सैनिक सेवाबाट अवकाशपछि पनि गोर्खा समुदाय, पूर्व सैनिक कल्याण र Gurkha Memorial Park को विकासमा महत्त्वपूर्ण योगदान दिइरहेका छन् ।
यसरी विभिन्न सामाजिक अभियानको नेतृत्व गर्दै क्याप्टेन लिम्बू राजनीतिमा प्रवेश गरेका हुन् । जसमा उनले नेपालमा नयाँ शक्तिका रूपमा उदाएको श्रम संस्कृति पार्टीलाई रोजे । उक्त पार्टीले योग्य ठहर्याएर समानुपातिकतर्फबाट सांसद बन्ने ढोका खोलिदिएको हो ।