बेलायत । ८ मार्च २०२६ मा ब्रिटिस गोर्खा नेपालीज् एसोसिएसन (बीजिएनए) वेम्बलीले एक विशेष सूचनामूलक कार्यक्रम सम्पन्न गरेको छ ।
बीजिएनएको उक्त कार्यक्रममा गोर्खा वेलफेयर ट्रस्ट सेन्टर (जिडब्लुटिसी) का वेलफेयर अफिसर क्याप्टेन निर्मल गुरुङको उपस्थिती रहेको थियो । संस्थाले उक्त कार्यक्रमका लागि विशेष निमन्त्रणा गरेको हो । यो निमन्त्रणा कुनै औपचारिक भोजभतेरका लागि नभई ब्रिटिस भूतपूर्व गोर्खा सैनिक र तिनका सन्ततिहरूका लागि नेपाल तथा बेलायतमा उपलब्ध स्वास्थ्य सेवा, निवृत्तिभरण र अन्य सुविधाहरूका बारेमा जानकारी दिने उद्देश्यले गरिएको थियो ।
कार्यक्रमको सुरुमा महासचिव धनकाजी गुरुङले उपस्थित सबैलाई स्वागत गरे र आगलागी सुरक्षासम्बन्धी जानकारी गराए । संस्थाका अध्यक्ष सन्त बहादुर गुरुङले हरेक आइतबार हुने नियमित योग र अङ्ग्रेजी कक्षा यसपटक स्थगित गरिएको जानकारी दिँदै कल्याणकारी अधिकृतबाट प्राप्त हुने सूचनाहरूको महत्त्वमाथि प्रकाश पारे ।
मुख्य वक्ताका रूपमा आमन्त्रित कल्याणकारी अधिकृत निर्मल गुरुङले स्वास्थ्य उपचारका सुविधाहरूबारे विस्तृत जानकारी दिए । विशेषगरी आकस्मिक रूपमा अस्पताल भर्ना हुनुपर्दा वा शल्यक्रिया गर्नुपर्दा गोर्खा कल्याणकारी कोषबाट कति आर्थिक सहयोग प्राप्त गर्न सकिन्छ भन्ने विषयमा उनले प्रस्ट पारे ।

यसका साथै बेलायतमा बसोबास गरिरहेका गोर्खाहरूका लागि पेन्सन क्रेडिट, साधारण पेन्सन र ८० वर्ष उमेर पुगेपछि पाइने अतिरिक्त पेन्सनका बारेमा पनि छलफल गरियो । नेपालबाट भर्खरै बेलायत आएका नयाँ सदस्यहरूले सुरुवाती चरणमा गर्नुपर्ने कानुनी प्रक्रिया र सुविधाहरूका लागि आवेदन दिने सही तरिकाबारे उनले विशेष सल्लाह र सुझावहरू प्रदान गरे ।
दिउँसो १ बजेबाट सुरु भएको उक्त कार्यक्रम साँझ ४ः३० बजे समापन भयो । कार्यक्रमको अन्त्यमा उपस्थित सदस्यहरूले महिला सदस्यहरूद्वारा प्रेमपूर्वक तयार पारिएका सेलरोटी, मःम र आलुदम जस्ता परिकारहरूको स्वाद लिँदै बिदाबारी भए । अन्त्यमा अध्यक्ष सन्त बहादुर गुरुङले क्याप्टेन निर्मल गुरुङ, उपस्थित सम्पूर्ण महानुभावहरू र स्वादिष्ट भोजनको व्यवस्थापन मिलाउने दिदीबहिनीहरूलाई धन्यवाद दिए ।