यूके । बेलायतको अल्डरसटस्थित दि लाउञ्च रेस्टुरेन्टमा गत आइतबार, ८ मार्च २०२६ का दिन एसियन महिला संघ (आमा) ले अन्तर्राष्ट्रिय नारी दिवस भव्य कार्यक्रम गरी मनाएको छ ।
‘गीभ टु गेन’ भन्ने मूल नाराका साथ आयोजित उक्त कार्यक्रमको उद्घाटन आमा समूहकी अध्यक्ष कल्पना गुरुङ, तमु धिं युके आमा समूहकी अध्यक्ष कमला गुरुङ र ज्येष्ठ नागरिक उदबिना गुरुङले संयुक्त रूपमा दीप प्रज्वलन गरेर गरेका थिए । यस वर्षको नारी दिवसको मुख्य आकर्षणका रूपमा रहेको ‘गीभ टु गेन’ विषयक अन्तक्र्रिया कार्यक्रममा विभिन्न क्षेत्रका विज्ञ तथा पेसाकर्मी महिलाहरूले आ–आफ्नो अनुभव र विचार प्रस्तुत गरेका थिए । उक्त छलफलमा ग्रेटर रसमर नेपाली कम्युनिटीकी अध्यक्ष लिला सेलिङ मावो, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ युकेकी पूर्वअध्यक्ष प्रमिला लाबुङ राई र शिव कल्चर मन्दिरकी उपाध्यक्ष सुष्मा गुरुङले वक्ताका रूपमा सहभागिता जनाउँदै महिला सशक्तिकरणका विविध पक्षमा प्रकाश पारेका थिए ।
समारोहमा समाजसेवाको क्षेत्रमा विशिष्ट योगदान पु¥याएबापत कविता गुरुङलाई ‘नारी अफ द डे’ उपाधिबाट सम्मान गरिएको थियो । कार्यक्रममा सयपत्री कल्चर समूह र कला आर्ट समूहले आकर्षक सांस्कृतिक नृत्यहरू प्रस्तुत गरेको थियो ।
कार्यक्रमको अर्को रोचक पक्ष राफल ड्र रहेको थियो, जहाँ जानकी सुनारले प्रथम पुरस्कारस्वरूप ’छड्के तिलहरी’ प्राप्त गरिन् । त्यसैगरी, आधा तोला सुनको पुरस्कार रेबिका श्रेष्ठ, कृतिका गुरुङ र सुष्मिता गिरीले जित्न सफल भए । राफल ड्र बाट संकलित मुनाफालाई परोपकारी कार्यमा खर्च गरिने जानकारी संस्थाकी अध्यक्ष कल्पना गुरुङले दिइन् ।
आमा समूहकी अध्यक्ष कल्पना गुरुङको अध्यक्षतामा सम्पन्न उक्त औपचारिक कार्यक्रमको प्रमुख अतिथिमा तमु धिं युके आमा समूहकी अध्यक्ष कमला गुरुङ रहेकी थिइन् । विशेष अतिथिका रूपमा लिला सेलिङ मावो, गोर्खा आमा समूहकी अध्यक्ष धन माया गुरुङ र ज्येष्ठ नागरिक उदबिना गुरुङको उपस्थिति रहेको थियो । ललिता गुरुङले स्वागत मन्तव्य राखेको उक्त कार्यक्रमको सञ्चालन आमा समूहकी पूर्वअध्यक्ष विभा गुरुङले गरेकी थिइन् ।
समारोहको अन्त्यमा प्रमुख अतिथि कमला गुरुङ र विशेष अतिथि धन माया गुरुङले शुभकामना व्यक्त गरेका थिए भने अध्यक्ष कल्पना गुरुङले कार्यक्रम सफल पार्न अहोरात्र खटिने सदस्यहरु र उपस्थित सम्पूर्ण महानुभावहरूलाई धन्यवाद ज्ञापन गर्दै कार्यक्रम समापन गरेकी थिइन् ।





