लन्डन । नेपालको पहिलो पर्यटन गाउँ सिरुबारीको बेलायतस्थित गाउँले भेला सम्पन्न भएको छ । शनिबार Harrow Sports Club, Valentine Road मा अध्यक्ष डेबिड गुरुङको अध्यक्षता र महासचिव धनबहादुर गुरुङको सहजीकरणमा सञ्चालन भेला सम्पन्न भएको हो ।
भेलामा लन्डनको व्यस्ततालाई पन्छाउँदै विभिन्न ठाउँबाट सिरुबारीवासी यस ठाउँमा भेला भएका थिए । समाजको ज्येष्ठ सदस्य देउबहादुर गुरुङ, निर्मला गुरुङ, रुद्रबहादुर गुरुङ र भीमबहादुर गुरुङले पानसमा बत्ती बालेर सुरुआत गरेका थिए । तत्पश्चात् इरानमा भएको मानव क्षतिमा दुख व्यक्त गर्दै १ मिनेट मौनधारण गरिएको थियो ।
चर्चित नेपाली ब्यान्ड ‘कुटुम्ब नेपाली लोक instrumental ensemble’ का व्यवस्थापक र टेकनिकल कोओर्डिनेटर सिरुबारी गाउँको सुपुत्र अरुण गुरुङ ( जि.सूर्यमान गुरुङको छोरा ) पनि कार्यक्रममा आएका थिए ।
सिरुबारी गाउँका सदस्य, हवलदार भीमबहादुर गुरुङ र श्रीमती विष्णु गुरुङका सुपुत्र सार्जन्ट निशान गुरुङले बेलायतमा नयाँ घर खरिद गरेको साथै दुई सन्तानको जन्म भएको खुशीयाली र कुटुम्ब ब्यान्डका मेनेजर अरुण गुरुङलाई कुटुम्ब कार्यक्रममा यूके आएको उपलक्ष्यमा खुशीयाली मनाउँदै सिरुबारी गाउँ बेलायतद्वारा फेटा र खादा लगाई सम्मान गरिएको थियो ।

एक अर्कासँग भलाकुसारी गर्दै घर गाउँको संस्कार र बाउ बाजेले अर्जेका रीतिथिति, जगेर्ना गर्नुका साथै परदेशमा बस्दा भावी पुस्तालाई हस्तान्तरण गर्ने विभिन्न संस्कारित कुराहरू लगायत आफ्नो पुर्ख्यौली गाउँ ठाउँ र त्यस भेगलाई कसरी माथि उठाउन सकिन्छ, कसरी आत्मनिर्भर गराउन सकिन्छ आदि कुरामा कुराकानी र छलफल भएको थियो ।
यद्यपि कोही नेपालतिरै अड्किनु , कोही बिरामी र विभिन्न कारणवश भेलामा आउन नसकेकोले संख्यात्मक हिसाबले सहभागिता भने कम भएको थियो । तर पनि विदेशमा रहेर कसरी आफ्नो गाउँलाई अझ सुन्दर र सशक्त बनाउन सकिन्छ, कसरी यसको पहिचानलाई अझ दिगो र उज्यालो बनाउन सकिन्छ भन्ने विषयमा छलफल भएको थियो ।
कार्यक्रममा राफल चिट्ठा ड्र को पुरस्कार सुनको चन्द्रमा समाजकै उपाध्यक्ष नवराज गुरुङलाई परेको थियो । त्यसपछि फेरि ड्र गराइएको थियो । पछि भने उक्त पुरस्कार सिरुबारी नासाकी चेली युद्ध गुरुङलाई परेको थियो । उक्त पुरस्कार श्री कृष्ण ज्वेलरीले प्रायोजन गरेको थियो । पिउने पानी समाजका अध्यक्षकी धर्मपत्नी बिना गुरुङले प्रायोजन गरेकी थिइन् ।
अन्त्यमा सबै जनाले गायिका सोनी कुँवर क्षेत्रीको सुमधुर स्वरमा मनग्य मनोरञ्जन गर्दै सामूहिक नाचगानमा पनि भाग लिएका थिए । र पुनः भेट्ने वाचासहित सबै जना छुट्टिएका थिए ।