लन्डन । लेम तमू (लाम्छाने गुरुङ) भाईखलक यूकेको तेस्रो वार्षिक भेटघाट कार्यक्रम संस्थाका उपाध्यक्ष हरि गुरुङको संयोजकत्वमा मार्च ७ मा अल्डरसटस्थित एमप्यार हलमा सम्पन्न भएको छ।
कार्यक्रममा ८६ वर्षीया लक्ष्मी गुरुङ (आयोजक हरि गुरुङकी माता) देखि ४–५ वर्षका बालबालिकासम्म तमू परम्परागत पहिरनमा सजिएर उत्साहका साथ सहभागी भएका थिए। कार्यक्रममा सिन्धुलीगढी युद्धका वीर नायक शिकारी सरदार वंशु लेम गुरुङको तस्वीरलाई विशेष सम्मानका साथ मञ्चमा सजाइएको थियो।
तमूधीँ यूकेका अध्यक्ष जुमकाजी गुरुङ, उपाध्यक्ष हरि गुरुङ, प्रमुख सल्लाहकार मेजर श्रीप्रसाद गुरुङ तथा नेपालबाट आएकि तमूधीँ नेपालकी प्रथम उपाध्यक्ष श्रीमती गीमाया गुरुङले संयुक्त रूपमा दीप प्रज्वलन गरी कार्यक्रमको उद्घाटन गरेका थिए।

कार्यक्रमको सुरुमा गत वर्ष दिवंगत भएका सदस्यहरूको आत्माको चीर शान्तिका लागि एक मिनेट मौन धारण गरिएको थियो। त्यसपछि नेपाल, बेलायत तथा तमू समुदायको राष्ट्रिय गीतको धुनमा सबैले उभिएर सम्मान व्यक्त गरेका थिए।
हालै अन्तर्राष्ट्रिय स्तरमा चलिरहेको इरान, इजरायल र अमेरिकाबीचको तनावका कारण हवाई उडानहरू प्रभावित भएपछि लेम समाजका अध्यक्ष क्याप्टेन बालकृष्ण गुरुङ, महासचिव परशु गुरुङ र अन्य केहि सदस्यहरु नेपालमै रोकिएका छन्। त्यसैले कार्यक्रमको जिम्मेवारी उपाध्यक्ष हरि गुरुङले सम्हालेका थिए भने औपचारिक कार्यक्रमको सञ्चालन टङ्क मार्टिन गुरुङले गरेका थिए।
कार्यक्रममा लेम (गुरुङ) परिवारमा उल्लेखनीय योगदान पुर्याएका व्यक्तिहरूलाई खादा, क्रेगी र फूलगुच्छा प्रदान गरी सम्मान गरिएको थियो। सम्मानित हुनेहरूमा लमजुङ समाज यूकेका अध्यक्ष पूर्णराज गुरुङ र जमुना गुरुङ, गिलुङ समाज यूकेका अध्यक्ष नन्दप्रसाद गुरुङ र दिलमाया गुरुङ, लामा चेली यूकेका अध्यक्ष बिनु गुरुङ र प्रेम गुरुङ तथा तमु कलाकार मञ्च यूकेका अध्यक्ष कृष्ण गुरुङ दम्पती रहेका थिए।
त्यस्तै नवविवाहित सुदिप गुरुङ, यमुना गुरुङ तथा डा. लोकेस गुरुङ, ईशा गुरुङलाई पनि सम्मान गरिएको थियो। डा. लोकेस गुरुङले युनिभर्सिटी कलेज लन्डनबाट फिजिक्स विषयमा पीएचडी पूरा गरेका छन्।
नेपालबाट आएका विशेष अतिथि श्रीमती घीमाया गुरुङ र श्रीमान होमबहादुर गुरुङलाई पनि कार्यक्रममा सम्मान गरिएको थियो। सम्मान ग्रहण गर्दै घीमाया गुरुङले विदेशी भूमिमा पनि माइतीले सम्झेर निम्तो दिएकोमा खुशी व्यक्त गर्दै आयोजक तथा उपस्थित सबैप्रति धन्यवाद ज्ञापन गरेकी थिइन्।
कार्यक्रममा बोल्दै प्रमुख सल्लाहकार मेजर श्रीप्रसाद गुरुङले लेम भाईखलक तथा उपस्थित सबै पाहुनालाई स्वागत गर्दै कार्यसमितिलाई धन्यवाद दिएका थिए। प्रमुख अतिथि जुमकाजी गुरुङले यस प्रकारको कार्यक्रमले आपसी सम्बन्ध र चिनजानलाई अझ नजिक बनाउने बताए।
कार्यक्रमका संयोजक हरि गुरुङले लेम समुदायको इतिहास र पहिचानप्रति गौरव गर्नुपर्ने उल्लेख गर्दै इतिहासलाई नयाँ पुस्तासम्म पुर्याउन यस्ता कार्यक्रम आवश्यक रहेको बताए। उनले प्रथम नेपाली महिला गायिका मलेवा देवी गुरुङ पनि लेम समुदायकी रहेको स्मरण गराए।

समाजका अध्यक्ष क्याप्टेन बालकृष्ण गुरुङले नेपालबाट भिडियो सन्देशमार्फत सम्बोधन गर्दै यस्ता कार्यक्रमले भावी पुस्तालाई समुदाय र इतिहाससँग जोडिराख्न सहयोग गर्ने बताए।
सांस्कृतिक कार्यक्रममा पदम गुरुङको बाँसुरी धुनसँगै मादल र गितारको प्रस्तुति निकै मनमोहक रहेको थियो। स्थानीय कलाकारहरूको प्रस्तुति पनि रहेको थियो। निता गुरुङको गीतमा सहभागीहरू नाचेका थिए भने नेपालबाट आएका गायिका निरा थापा मगरले गुरुङ गीत प्रस्तुत गरी दर्शकको मन जित्न सफल भइन्।
राफलड्र बिनु गुरुङ र हेलिसाले संयोजन गरेका थिए।
कार्यक्रम सफल बनाउन डमरकाजी गुरुङ, मिमकाजी गुरुङ, ललिता गुरुङ, हेलिसा गुरुङ, कृष्ण गुरुङ, दिलमाया गुरुङ, पदम गुरुङ, बिनु गुरुङ, गंगासिंह गुरुङ, सन्ध्या गुरुङ, बिसान गुरुङ, लेख गुरुङ, बुद्ध गुरुङ, मञ्जु गुरुङ, मार्सल गुरुङ तथा फ्लाइट लेफ्टिनेन्ट जेतेन्द्र गुरुङ लगायत सक्रिय रूपमा लागेका थिए।



