बेलायत । ग्रेटर रसमोर नेपाली कम्युनिटी (GRNC) ले यस वर्षको अन्तर्राष्ट्रिय नारी दिवसलाई बेलायतको स्थानीय निकाय रसमोर बरो काउन्सिलसँगको ऐतिहासिक सहकार्यमा भव्य रूपमा आयोजना गर्ने भएको छ।
आगामी ७ मार्च २०२६, शनिबारका दिन आल्डरसटस्थित ‘द प्यालेस’ (The Palace) मा हुने यस विशेष कार्यक्रमको तयारीका सन्दर्भमा सोमबार संस्थाकी अध्यक्ष लिला सेलिङ माबोको अध्यक्षतामा कार्यसमिति र ट्रस्टीहरूको बैठक सम्पन्न भयो। सचिव प्रजेष श्रेष्ठले सञ्चालन गर्नुभएको उक्त बैठकमा कार्यक्रमको व्यवस्थापन र पछिल्लो तयारीबारे विस्तृत छलफल गरिएको थियो।
विगतका वर्षहरूमा काउन्सिललाई अतिथिका रूपमा मात्र निमन्त्रणा गरिने भए तापनि यसपटक काउन्सिलर सोफी पोर्टरको विशेष प्रस्तावमा काउन्सिल आफैंले आयोजनामा सहकार्य गर्ने निर्णय गरेको हो। संस्था स्थापनाको दुई दशकपछि पहिलो पटक महिला अध्यक्ष चयन भएको गौरवमय अवसरमा स्थानीय निकायबाट प्राप्त यो साथलाई नेपाली समुदायले एउटा ठूलो उपलब्धिका रूपमा लिएको छ। कार्यक्रममा मेयर कालुम स्टुअर्ट (Calum Stewart) प्रमुख अतिथि र सांसद एलेक्स बेकर (Alex Baker, MP) विशेष अतिथिका रूपमा सहभागी हुनुहुनेछ।
यस वर्षको कार्यक्रमलाई विशेष समावेशी बनाइँदैछ, जहाँ मुस्लिम र अश्वेत समुदायका साथै युवा पुस्ताको समेत सक्रिय सहभागिता रहनेछ। कार्यक्रमको मुख्य उद्देश्य सचेतना फैलाउनु रहेकाले यसपटक मानसिक स्वास्थ्य, घरेलु हिंसा, बाल सुरक्षा र अपराध न्यूनीकरण जस्ता गम्भीर तथा महत्वपूर्ण विषयमा विशेष प्रस्तुतिहरू दिइनेछ। यसका अतिरिक्त बालबालिकाका लागि विविध खेलकुद, सांस्कृतिक नृत्य, गीत-संगीत र राफल ड्र जस्ता विभिन्न आकर्षक कार्यक्रमहरू पनि समावेश गरिएका छन्।
कार्यक्रम संयोजक अनिता राई र सह-संयोजक सुशीला थापाका अनुसार यसपटक GRNC ले समयपालन (English Time) लाई विशेष प्राथमिकता दिनेछ। खादा-माला र लामो औपचारिक उद्घोषणमा समय खर्च नगरी कार्यक्रमलाई चुस्त र व्यवस्थित रूपमा सञ्चालन गर्ने लक्ष्य राखिएको छ। आयोजकले सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरूलाई बिहान ११:०० बजेदेखि दिउँसो ४:०० बजेसम्म तोकिएको समयमै उपस्थित भई कार्यक्रम सफल बनाइदिन हार्दिक अनुरोध गरेको छ।