बेलायत । बेलायत (यूके) का नेपालीहरु माझ सबैभन्दा ठूलो र लोकप्रिय फुटबल उत्सव ’गोर्खा कप’ को २४औँ संस्करण आगामी मे २४ तारिखमा आयोजना हुने भएको छ ।
लामो समयदेखि यूकेका नेपालीहरूको खेलकुदप्रतिको मोह र एकताको प्रतीक मानिँदै आएको यो प्रतियोगिता यस वर्ष पनि अल्डरसटस्थित क्वीन्स इभिन्यू फुटबल मैदानमा भव्य रूपमा सञ्चालन गरिने आयोजक तमु धीं यूकेका अध्यक्ष जुमकाजी गुरुङ र खेलकुद सचिव क्याप्टेन दिपकराज घलेले जानकारी दिए ।

प्रतियोगितालाई व्यवस्थित बनाउनका लागि आयोजकले तयारीलाई तीव्रता दिएका छन् । खेलमा सहभागी हुन चाहने फुटबल टोलीहरू र व्यावसायिक स्टल राख्न इच्छुकहरूका लागि आगामी अप्रिल ५ तारिख आइतबारदेखि दर्ता प्रक्रिया खुला गरिने भएको छ । इच्छुक टिम र व्यवसायीहरूले मे ३ तारिखसम्म आफ्नो नाम दर्ता र स्टल बुकिङ गरिसक्नुपर्नेछ । तोकिएको समयसीमाभित्रै दर्ता प्रक्रिया पूरा गर्न आयोजकले सबैमा आग्रह समेत गरेका छन् । स्टल बुकिङको लागि उपाध्यक्ष दिलमाय गुरुङलाई सम्पर्क गर्न सकिने आयोजकले जनाएको छ ।
यस वर्षको गोर्खा कपमा पनि तीनवटा मुख्य विधामा प्रतिस्पर्धा गराइनेछ । जसमा मुख्य पुरुषतर्फ मेन, भेट्रान्स र महिला टिमहरूबीच उपाधिका लागि भिडन्त हुनेछ । मैदानमा उत्कृष्ट फुटबल प्रदर्शन गर्ने टोलीहरूलाई विजेता र उपविजेताको ट्रफीसहित पुरस्कृत गरिनेछ । उत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलरक्षक र उत्कृष्ट ट्राइकर विधामा समेत पुरस्कारको व्यवस्था गरिएको छ ।
गोर्खा कपमा खेलकुदसँगै विभिन्न मनोरञ्जनात्मक कार्यक्रम हुनेछ । जसमा साँस्कृतिक कार्यक्रम, बच्चा र परिवारका लागि मनोरञ्जनात्मक खेल, नौमति बाजालगायतका गतिविधि हुने आयोजक तमु धीं यूकेका अध्यक्ष जुमकाजी गुरुङ र खेलकुद सचिव क्याप्टेन दिपकराज घलेले जानकारी दिए । जसमा सयपत्री कल्चरको सामूहित नृत्य पनि प्रस्तुत गरिनेछ ।
गत वर्ष सम्पन्न २३औँ संस्करणमा मुख्य विधा मेनमा नेपाली ड्रिमले जीत हासिल गरेको थियो भने भेट्रान्सतर्फ हिमालयन र महिला विधामा रन्डर बोल्टले उपाधि आफ्नो पोल्टामा पारेका थिए । यस वर्षको २४ औँ संस्करण अझ बढी रोमाञ्चक र प्रतिस्पर्धात्मक हुने अपेक्षा गरिएको छ । खेलकुदका माध्यमबाट समुदायलाई जोड्ने यो मेलामा हजारौँको संख्यामा नेपालीहरूको उपस्थिति रहने विश्वास लिइएको छ ।