लन्डन । बेलायतस्थित एडटेक स्टार्टअप टेडुनेटले ‘वेब समिट कतार २०२६’ मा आफ्नो नवीन प्रविधि प्रस्तुत गर्दै अन्तर्राष्ट्रिय ध्यान आकर्षित गरेको छ ।
टेडुनेटले परम्परागत ‘सबैका लागि एउटै मोडल’ शिक्षा प्रणालीलाई चुनौती दिँदै प्रविधि र एआई–आधारित सहयोग संयोजन गरिएको प्रणाली प्रदर्शन गरेको थियो ।
विश्वकै ठूलो प्रविधि सम्मेलनमध्ये एक मानिने वेब समिटमा सहभागिताले टेडुनेटको अन्तर्राष्ट्रिय पहिचान मजबुत बनाएको कम्पनीले जनाएको छ ।
नेपाली उद्यमी सुमित र नितेशद्वारा स्थापित ‘टेडुनेट’ विद्यार्थीको सिकाइ शैली परिवर्तन गर्ने लक्ष्यसहित विकसित गरिएको ‘पर्सनलाइज्ड लर्निङ प्लेटफर्म’ हो ।

कम्पनीका अनुसार, उक्त प्रणालीले विद्यार्थीको प्रगति रियल टाइममा ट्र्याक गर्छ, सिकाइका कमजोरी पहिचान गर्छ र लक्षित मार्गदर्शन प्रदान गर्छ । यसको उद्देश्य गुणस्तरीय शिक्षालाई परिवारका लागि पहुँचयोग्य र किफायती बनाउनु छ ।
संस्थापकद्वयले प्रत्येक विद्यार्थीको क्षमता, गति र लक्ष्यअनुसार सिकाइ ढाँचा अनुकूल बनाउने आफ्नो स्पष्ट मिसन रहेको बताए ।
प्रारम्भिक चरणमै सकारात्मक प्रतिक्रिया र विस्तार हुँदै गएको पहुँचका साथ टेडुनेट प्रविधिमार्फत व्यक्तिगत शिक्षाको भविष्य निर्माण गर्ने उदीयमान शक्तिका रूपमा उभिएको छ ।
कम्पनीले बेलायत बाहिर पनि आफ्नो प्रभाव विस्तार गर्ने योजना बनाएको जनाएको छ ।