लन्डन । पञ्चासे हर्पनडाँडा समाज यूकेले 'धनबहादुर गुरुङ सांगीतिक साँझ'मा ६० हजार रुपैयाँ सहयोग गरेको छ ।
तमु (गुरुङ) कलाकार संघ नेपाल, गण्डकीको आयोजनामा शुक्रबार फागुन ८ गते (२० फेब्रुअरी २०२६) मा पोखरा रंगशालामा हुने सांगीतिक साँझका लागि पञ्चासे हर्पनडाँडा समाज यूकेले संस्थागत ६० हजार सहयोग गरेको पीआर प्रकाश गुरुङले जानकारी दिए । सन् २०१२ मा स्थापना भएको पञ्चासे हर्पनडाँडा समाज यूकेले नेपाल र बेलायतमा विभिन्न क्षेत्रमा निरन्तर सहयोग गर्दै आएको छ । संस्थाले वार्षिक र अर्धवार्षिक विभिन्न कार्यक्रमसमेत गर्दै आएको छ ।
कार्यक्रमका संयोजक गोरे गुरुङका अनुसार वरिष्ठ कलाकार गुरुङको सम्मान र ‘तमु कलाकार कल्याणकारी कोष’ स्थापना गर्ने उद्देश्यले विशेष सांगीतिक कार्यक्रम हुँदैछ । नेपाली गीत–संगीत क्षेत्रमा कालजयी, कर्णप्रिय र सन्देशमूलक सिर्जनामार्फत राष्ट्रको कला तथा संस्कृतिलाई राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरमा चिनाउन योगदान दिएका गायक, संगीतकार तथा संगीत संयोजक धनबहादुर गुरुङको उच्च कदर गर्दै यो कार्यक्रम गर्न लागिएको संघले जनाएको छ ।
सांगीतिक कार्यक्रम सम्पन्न गर्न १७ लाख ५० हजार रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको आयोजक संस्थाका अध्यक्ष विक्रम गुरुङले जानकारी दिए । साथै कार्यक्रमबाट ११ लाख ७५ हजार रुपैयाँ बचत गर्ने लक्ष्य राखिएको छ । बचत रकमबाट पवित्र, दीर्घकालीन र सामाजिक उत्तरदायित्व बहन गर्ने उद्देश्यले कल्याणकारी कोष स्थापना गरिने समितिले उल्लेख गरेको छ ।
कार्यक्रमले एक व्यक्तिको सम्मान मात्र नगरी तमु समुदायको मौलिक कला, संस्कृति, भाषा र संगीतको प्रवर्द्धन गर्दै समग्र नेपाली सांगीतिक क्षेत्रको गरिमा अभिवृद्धि गर्ने विश्वास आयोजकले विश्वास लिएको छ । संघले यस ऐतिहासिक तथा सांस्कृतिक महत्व बोकेको कार्यक्रमको प्रचार–प्रसारमा सहयोग गरिदिन सञ्चारमाध्यमलाई आग्रह पनि गरेको छ ।
२०४५ सालदेखि गुरुङ भाषा मात्र गीत, संगीत र नृत्य गर्दै आएको धनबहादुर गुरुङको पहिलोपटक आफ्नै तमु भाषामा गाइएका गीतहरुको साथमा आफ्नै कर्मथलो पोखरामा घन्किदै छ "धनबहादुर गुरुङ सांगीतिक साँझ" । कार्यक्रम दिउँसो ४ बजेदेखि हुनेछ । टिकट ३०० रुपैयाँ तोकिएको छ ।