अल्डरसट । अल्डरसटस्थित शिव मन्दिरमा १५ फेब्रुअरीका दिन महाशिवरात्रि पर्व सभ्य र भव्य रूपमा सम्पन्न भएको छ ।
सदाझैँ यसवर्ष पनि शिव मन्दिरमा पूजा-आराधना र भजन कीर्तनको साथमा चारवटै प्रहरको शिव पूजा र आराधनाको साथमा १५ तारिख बिहान ७ बजेदेखि भोलिपल्ट ७ बजेसम्म चौबीसै घण्टा मन्दिरमा पूजा आराधना भजन भएको थियो ।
यस वर्ष करिब २ हजार भक्तजनले दर्शन गरेका थिए । शिव मन्दिर कार्यसमिति र भोलेन्टियरको सहयोगले मन्दिरमा शिवरात्रिकै लागि भौतिक संरचनामा सुधार गर्दै कार्यक्रम भव्य बनाउन मन्दिरका अध्यक्ष हरि भट्टराईको संयोजकत्वमा विशेष पहल भएको थियो ।
मन्दिरको दर्शनका लागि अल्डरसट, फार्नबोरो , क्याम्बर्ली, गिलफोड, ब्र्याकनेल, लन्डन, आस्फोडलगायत यूकेका धेरै शहरबाट भक्तजनको सहभागिता थियो । मन्दिर व्यवस्थापन समितिले भक्तजनको सहजताको लागि दिनभरि नै प्रसाद वितरण गरेको थियो ।

करिब १ हजार भक्तजनले प्रसाद ग्रहण गरेको प्रसाद व्यवस्थापनमा खटिएकी पाकशाला संयोजक विमला भट्टराईले बताइन् । दिनभरि मन्त्रको गुन्जन, संगीतमय भजन कीर्तन र निरन्तरको प्रसाद वितरणले मन्दिरको वातावरणलाई भक्तिमय र आनन्दित बनाएको थियो । विगतका वर्षभन्दा यसवर्ष धेरै भीड भएको र भक्तजनको सदाशयता र सहयोगले विशेष रमाइलो भएको उपाध्यक्ष तथा शिवरात्रि कार्यक्रम सञ्चालक सुष्मा गुरुङले जानकारी गराइन् ।
मन्दिरमा बिहान ८ बजे, बेलुका ५ बजे, राति १२ बजे र बिहान ४ बजे अभिषेकको साथमा विशेष अर्चना र आरती भएको र दिनभरि नै गुरुहरूद्वारा रुद्राभिषेक भएको र भक्तहरूको इच्छाअनुसार पूजा भएको मन्दिरका आचार्य गुरु मधुसूदन सत्यालले बताए ।
शिवत्वको चर्चाको साथमा भएको रुद्राभिषेकमा भक्तजनको विशेष उपस्थिति थियो । समाजमा यस्ता धार्मिक र सांस्कृतिक कार्यक्रमले समाजमा धार्मिक जागरण र आध्यात्मिक उन्नयन हुने विश्वास शिव मन्दिर परिवारले गरेको छ ।
कार्यक्रममा विशेषगरी अध्यक्ष हरि भट्टराई, उपाध्यक्ष सुष्मा गुरुङ, महासचिव निरज शर्मा, सहसचिव निरज तिवारी र कोषाध्यक्ष किशोर गुरुङको साथमा कल्चरल सेक्रेटरीद्वय रुपेश काफ्ले तथा प्रणव थोटम तथा सम्पूर्ण पदाधिकारी, ट्रस्टीहरू र प्याट्रोन काउन्सिलका सदस्यसँगै विविध संघसंस्थाका प्रतिनिधिको सहयोग र आपसी सामञ्जस्यले कार्यक्रम सफल भएको छ ।
आगामी दिनमा यस्ता कार्यक्रमले समाजमा धर्म, संस्कार र संस्कृतिको जगेर्ना गर्ने र आध्यात्मिक जागरण पनि गराउने कुरामा शिव मन्दिर परिवार विश्वस्त रहेको जनाइएको छ ।