लन्डन । बेलायतस्थित नेपाली दूतावास लन्डनमा २६३औँ सेना दिवस मनाइएको छ ।
नेपाली सेनाको स्थापना भएको २६३औँ वार्षिकोत्सवको अवसरमा नेपाली दूतावासले सोमबार १६ फेब्रुअरी २०२६ मा आफ्नै परिसरमा विशेष समारोह आयोजना गरेको हो । समारोह नेपाल र बेलायतका राष्ट्रिय गानहरू बजाएर सुरु भयो । बेलायती सेनाका मेजर जनरल कार्ल बोसवेल सीबीई र बेलायतका लागि नेपाली कार्यवाहक राजदूत बिपिन दुवाडीले संयुक्त रूपमा दीप प्रज्वलन गरी समारोह उद्घाटन गरे ।
कार्यक्रममा बोल्दै कार्यवाहक राजदूत दुवाडीले नेपाली सेनाको गौरवपूर्ण इतिहास र राष्ट्रका लागि हासिल गरेका महत्वपूर्ण उपलब्धिहरू स्मरण गरे । 'हाम्रा सिमानाको रक्षा गर्नेदेखि प्राकृतिक विपत्तिका बेला मानवीय सहायता प्रदान गर्ने, संयुक्त राष्ट्रसंघका शान्ति स्थापनासम्बन्धी अभियानहरूमा योगदान गर्नेदेखि अन्तर्राष्ट्रिय सम्बन्ध सुदृढ गर्ने कार्यसम्म, नेपाली सेनाले निरन्तर रूपमा उत्कृष्टता, सहनशीलता र अटल कर्तव्यनिष्ठाको प्रदर्शन गर्दै आएको छ,' उनले भने । दुवाडीले राष्ट्रसेवामा आफ्नो जीवन आहुति दिने वीर नेपाली सेना कर्मीहरूप्रति श्रद्धाञ्जली पनि अर्पण गरे ।
मेजर जनरल कार्ल बोसवेलले नेपाली सेनाको स्थापना भएको २६३औँ वर्षको अवसरमा बधाई व्यक्त गरे । आफ्नो मन्तव्यमा उनले गौरवशाली इतिहास र विश्वव्यापी उत्कृष्ट प्रतिष्ठा बोकेको सैन्य संस्था नेपाली सेनाको सेवा, त्याग र व्यावसायिकताको प्रशंसा गरे । उनले नेपाल र बेलायतबीचको सैन्य सम्बन्ध 'अन्य कुनैभन्दा फरक' रहेको उल्लेख गर्दै बेलायतले नेपाली सेनालाई उच्च सम्मानका साथ हेर्ने गरेको बताए ।
उनले संयुक्त तालिम तथा शिक्षा, विपद् प्रतिकार सहकार्य, व्यावसायिक आदान–प्रदान तथा शान्ति, स्थायित्व र अन्तर्राष्ट्रिय नियममा आधारित व्यवस्थाप्रति साझा प्रतिबद्धतामार्फत पछिल्ला वर्षहरूमा दुई सेनाबीचको साझेदारी अझ सुदृढ हुँदै गएकोमा सन्तोष व्यक्त गरे।
मेजर जनरल बोसवेलले गोर्खाहरू केवल सैनिक मात्र नभई दुई राष्ट्रबीचको गहिरो विश्वास र मित्रताको “जीवित प्रतीक” भएको पनि बताए ।

यसअघि, सैनिक सहचारी ब्रिगेडियर जनरल अनुप शाहले अतिथिहरूलाई स्वागत गर्दै समारोहमा सहभागी भएकोमा धन्यवाद व्यक्त गरे । आफ्नो मन्तव्यमा ब्रिगेडियर जनरल शाहले नेपाली सेनाको व्यावसायिकता, समर्पण र अनुशासनबारे प्रकाश पारे । आफ्नो प्रस्तुतीकरणमा उनले संयुक्त राष्ट्रसंघको मातहतमा सञ्चालन हुने शान्ति स्थापना अभियानहरूमा योगदान, मानवीय तथा विपद् उद्धार प्रयास, पूर्वाधार विकास परियोजनाहरू तथा नागरिक–सैन्य क्षेत्रमा व्यापक संलग्नतासहित नेपाली सेनाका प्रमुख गतिविधि र उपलब्धिहरूलाई विशेष रूपमा उल्लेख गरे ।
कार्यक्रममा नेपाली सेनाका गतिविधिहरू झल्काउने भिडियो क्लिपहरू पनि प्रदर्शन गरिएको थियो । समारोहमा विभिन्न क्षेत्रका एक सयभन्दा बढी अतिथिहरूको उपस्थिति रहेको थियो, जसमा उच्चपदस्थ सैनिक अधिकारीहरू, लन्डनस्थित रक्षा सहचारीहरू, सरकारी अधिकारीहरू, सैनिक अधिकृतहरू तथा बेलायतस्थित नेपाली समुदायका प्रतिनिधिहरू सहभागी भएको नेपाल दूतावास लन्डनले आइतबार जारी विज्ञप्तिमा उल्लेख छ ।