कागबेनी । क्वोंने (घोण्डे/घोताने) गुरुङ (तमु) समाज यूकेले वाराजुङ मुक्तिक्षेत्र गाउँपालिका वडा नं ४ मुस्ताङ कागबेनीमा निर्माण गरेको क्वोंने कानिङ गुम्बाको उद्घाटन गरिएको छ ।
११ फेब्रुअरी २०२६ मा क्वोंने (घोण्डे/घोताने) गुरुङ (तमु) समाज यूकेका अध्यक्ष कुमार गुरुङ, चेलीबेटी प्रमुख लिना गुरुङ र वडाध्यक्ष कर्मा घ्यप्चे गुरुङले सामूहिक रुपमा उद्घाटन गरेका हुन् । समाजले ६३ लाख रुपैयाँ लगानीमा उक्त गुम्बा बनाएको हो ।
समारोहमा समाजका उपाध्यक्ष रामबहादुर गुरुङले स्वागत मन्तव्य राखेका थिए भने गुम्बा निर्माण संयोजक नेपाल प्रहरीका पूर्वएसपी राजेन्द्र गुरुङले गुम्बा निर्माण र उपयोगिताका बारेमा प्रकाश पारेका थिए ।
गाउँपालिकाका उपाध्यक्ष डिकी गुरुङले गुम्बा निर्माणले कागबेनीमा धार्मिक महत्त्व थप बढाएको भन्दै क्वोंने (घोण्डे/घोताने) गुरुङ (तमु) समाज यूकेलाई धन्यवाद दिइन् ।
कार्यक्रममा समाजका अध्यक्ष कुमार गुरुङले गुम्बा निर्माणका लागि सहयोग गर्ने सबैमा धन्यवाद ज्ञापन गरे । त्यस्तै, चेलीबेटी प्रमुख लिना गुरुङले गुम्बा बनाउने सपना पूरा भएकोमा खुशी लागेको बताइन् ।
कार्यक्रममा प्रमुख संरक्षक क्या जीवनकुमार गुरुङ, संस्थापक अध्यक्ष नरजंग गुरुङ, प्रमुख सल्लाहकार हरिगोविन्द गुरुङ, सल्लाहकार तथा तमु समाज युकेका संस्थापक अध्यक्ष चित्रबहादुर गुरुङ, केन्द्रीय सचिव चन्द्रमान गुरुङ, सल्लाहकार मेजर लक्ष्मीप्रसाद गुरुङ, कास्की अध्यक्ष कृष्णबहादुर गुरुङ, कास्की चेली प्रमुख रुद्रकुमारी गुरुङलगायतले शुभकामना मन्तव्य राखेका थिए ।
कार्यक्रम समाजका महासचिव इन्द्र घोथानेले सञ्चालन गरेका थिए भने कार्यक्रमको अवसरमा गुम्बा निर्माण समितिका संयोजक एसपी राजेन्द्र गुरुङ, अध्यक्ष कुमार गुरुङ, चेलीबेटी प्रमुख लिना गुरुङलाइ कागबेनी समाज लगायतले भव्य सम्मान गरिएको थियो ।



