काठमाडौँ । गुरुङ भाषा र साहित्यका क्षेत्रमा लामो समयदेखि क्रियाशील लेखक एवं कवि गौरी तमुको नयाँ कविता संग्रह ‘सैँप्रोल’ विमोचन भएको छ ।
काठमाडौँको कमलादिस्थित प्रज्ञा प्रतिष्ठानमा शनिबार लेखकहरू राजन मुकारुङ, दीपक सापकोटा, डा. रजनी ढकाल र गौरी तमूले विमोचन गरेका हुन् ।
विमोचन समारोहमा बोल्दै लेखक मुकारुङले सैँप्रोल गुरुङ भाषा र संस्कृति चियाउने आँखिझ्याल भएको बताए । आदिवासी–जनतजातीसम्बन्धीको पहिचान साहित्य नै मुलधारको साहित्य भएको उल्लेख गर्दै उनले भने, ‘आदिवासी–जनजातिको परम्परा र संस्कृतिमाथि लेखिएको साहित्य नै अहिलेको मुलधार हो । नेपालमा अझै पनि आन्दोलनपछि आदिवासी–जनतातीको आवाज हराउने बनाइन्छ, जुन नहुनुपर्थ्यो, सैँप्रोलका कविताले तिनै हराइरहेका आवाज मुखरित गरेको छ ।’
सैँप्रोलका कविता प्रतिरोध र आक्रोशका प्रश्न भएको दीपक सापकोटाले बताए । ‘यो किताब तमू मिथमा आउने महिला पात्रको नाम मात्रै होइन । तमू महिलाको अस्तित्व, असन्तुष्टि र आक्रोशको बहस, विमर्श र प्रश्न पनि हो,’ उनले भने, ‘महिलाको विद्वता र क्षमतामाथि गरिएको प्रश्नप्रति प्रतिरोध हो– सैँप्रोल । यी कविता व्यक्तिगत अनुभव र सामूहिक प्रतिबद्धताबाट निर्मित भएका हुन् ।’

यस पुस्तकका कविताले गुरुङ–संस्कृति र पहिचानमाथि गम्भीर विमर्श गर्ने लेखक ढकालले बताइन् । ‘म त्यहि संस्कृतिमा हुर्के/बढेको भए पनि मैले गुरुङ–मगरको संस्कृति बुझेको थिइनँ, यस किताबले तमू संस्कृतिप्रति मलाई उत्सुकता बढाइदियो, यसअर्थमा यस पुस्तकलाई म पूर्णांक दिन सक्छु,’ ढकालले भनिन्, ‘यी कविताका शैली र प्रवृत्ति गौरी तमूको जस्तै स्पष्ट र सटिक छ ।’
पुस्तकले महिला अस्तित्वसँगै तमूहरूको उत्पत्ति, संस्कृति, मृत्यु संस्कार र तमूसँगै आदिवासी भूगोल–संस्कृतिमाथिको आक्रमणबारे विमर्श गर्ने आशा राखिएको कवि गौरी तमूले बताइन् । उनको यसअघि गुरुङ–नेपाली भाषाको द्विभाषिक मुक्तक संग्रह ‘समैँ दर्बानी’ प्रकाशित छ ।
इन्डिगो इन्कले प्रकाशन गरेको सैँप्रोलको मूल्य २७५ रुपैयाँ रहेको छ ।