लन्डन । नेपाल भ्रमणमा पुगेको सहारा यूकेको टोलीलाई संरक्षक अरुणकुमार चौधरीले रात्रिभोजसहित स्वागत गरेको छ ।
६ फेब्रुअरी २०२६ मा चौधरीले ललितपुरको झम्सिखेलस्थित आफ्नै द प्लाजामा सहारा यूकेका नवनिर्वाचित अध्यक्ष शारदा गुरुङलगायतलाई स्वागत गरेका हुन् । व्यवसायी तथा संरक्षक चौधरी र उनकी पत्नी शिला चौधरीले अध्यक्ष गुरुङलाई पुष्पगुच्छा र खादाले स्वागत गरे ।
टोलीमा सहारा यूकेका अध्यक्ष शारदा गुरुङ, पत्नी सन्तोषी गुरुङ, पूर्वअध्यक्ष लेरि कुसाङ गुरुङ र पञ्च गुरुङ दम्पती, सहारा एफसी संस्थापक अध्यक्ष हरिकुमार श्रेष्ठ, मेजर सूर्य गुरुङ, पूर्वडीएसपी एवं शीतलपाटी न्यूजका सम्पादक वाचस्पति रेग्मी, गोर्खा मिडियाका प्रबन्ध निर्देशक तथा सहारा यूकेका मिडिया सेक्रेटरी मिलन तमुलगायत सहभागी थिए । त्यसपश्चात् सहारा यूकेका अध्यक्ष शारदा र पूर्वअध्यक्ष लेरि कुसाङले संरक्षक चौधरीलाई मायाको चिनो प्रदान गरेका थिए ।
संरक्षक चौधरीले सहारा यूकेको टोलीलाई स्वागत गर्न पाउँदा एकदमै खुसी लागेको भन्दै नवनिर्वाचित अध्यक्ष गुरुङलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिए ।
'म एकदमै खुसी छु । शारदा भाइ सहारा यूकेको अध्यक्ष हुनुभएको छ । उहाँ मैले पहिलेदेखि नै हेर्दा धेरै डेडिकेटेड, लगनशील अनि क्षमतावान व्यक्तित्व हुनुहुन्छ । उहाँले आउँदा दिनहरुमा सहारा यूकेलाई र सहारा परिवारलाई अर्को नयाँ उचाइमा पुर्याउनुहुन्छ भन्ने मैले आशा गरेको छु । मेरो आफ्नो तर्फबाट सहारा यूकेलाई हुँदै आएको सहयोग वा हातेमालो कायम रहन्छ,' उनले भने, 'सधैं नतिजामुखी बन्नुस् हो । आफ्नो सर्ट कार्यकालमा प्रोग्राम बनाएर कार्यान्वयनमा लैजाने र सहारा यूकेमा केही परिवर्तन ल्याउन सकेँ भन्ने आभाष दिलाउन सकुन् भन्ने मैले प्रार्थना गर्छु ।' उनले शारदाको कार्यकाल सफलताको लागि सहयोग गर्न सबैलाई आग्रह गरे ।
अध्यक्ष गुरुङले पनि आफूहरुलाई दिएको सत्कारका लागि संरक्षक चौधरीलाई धन्यवाद दिए । 'दाइलाई भेट्टदा खुसी लाग्छ । स्टेटफर्वार्ड बोल्ने, सहारालाई माया गर्नु हुन्छ । मलाई त उहाँ याक्टर जस्तो लाग्छ । गीत पनि राम्रो गाउने । सहारा यूकेको टोलीलाई गर्नुभएको यो सत्कारलाई धेरै धन्यवाद छ ।'
स्वागत, रात्रिभोजपछि चौधरीले सहारा यूकेको टोलीलाई आफ्नो प्लाजाबारे जानकारी दिँदै अवलोकन गराएका थिए । भोजमा सहारा यूकेको साथमा चौधरी निकट पाहुनाहरुको समेत उपस्थिति थियो ।
शारदा गुरुङ शनिबार २० डिसेम्बर २०२५ मा सम्पन्न अधिवेशनबाट अध्यक्षमा निर्वाचित भएका हुन् । उनी नेतृत्वको नवौँ कार्यसमितिको उपाध्यक्षमा क्याप्टेन पीताम्बर गुरुङ, महासचिवमा प्रकाश गुरुङ, सचिवमा दीपक गुरुङ, कोषाध्यक्षमा जगन गुरुङ, सहकोषाध्यक्षमा कुमार थापा, प्रमुख प्राविधिक अधिकृतमा दल गुरुङ, खेलकुद सचिवमा समसेर गुरुङ, युवा संयोजकमा अजय जंग थापा रहेका छन् ।
सदस्यहरूमा रमेश गुरुङ, सविन्द्र गुरुङ, गम गुरुङ, गंगा गुरुङ, देव गुरुङ, लाल गुरुङ, नारायण गुरुङ, ओम गुरुङ, मनोज गुरुङ, मिलन तमु र मेग गुरुङ छन् ।







