लन्डन । ब्रिगेड अफ गोर्खाजअन्तर्गत इन्टेक १९८६ ले ४०औँ वार्षिकोत्सव मनाएको छ । आफ्नो भर्तीको ४० वर्ष पूरा भएको अवसरमा शनिबार, ३१ जनवरीका दिन द प्यालेस रेस्टुरेन्टमा भव्य रूपमा वार्षिकोत्सव मनाएको हो ।
इन्टेकका अध्यक्ष मेजर योगेश राईका अनुसार सन् १९८६ को जनवरीमा ३०० जना गोर्खा भर्ती भएका थिए । तीमध्ये ११ जना सहयोद्धा दिवंगत भइसकेका छन्, जसलाई एक मिनेट मौन धारणमार्फत श्रद्धाञ्जली अर्पण गरिएको थियो । इन्टेकका २८९ सदस्य जीवित छन् ।

समारोहमा करिब १३५ जना पूर्वसैनिक, परिवारजन तथा अतिथिहरूको उपस्थिति थियो। स्वागत मन्तव्य, राष्ट्रिय गान, श्रद्धाञ्जली अर्पण तथा ४०औँ वार्षिकोत्सव केक काट्ने कार्यक्रम सम्पन्न भयो । विशेष उपलब्धि हासिल गरेका परिवारजनहरूलाई सम्मानसमेत प्रदान गरियो ।
यस अवसरमा उत्कृष्ट सैनिक करियरका लागि दुई युवा अधिकृतलाई विशेष बधाई दिइयो । मेजर युगल आङ्बो लिम्बु, MBE (नरवीर आङ्बो तथा दिलकुमारी आङ्बोका सुपुत्र) र Royal Air Force मा कार्यरत फ्लाइङ अफिसर लेफ्टिनेन्ट शिगल इस्बो लिम्बु (युबराज इस्बो लिम्बु तथा इन्दु पन्धाक लिम्बुका सुपुत्र) लाई बधाई दिइएको हो ।

अध्यक्ष मेजर योगेश राई तथा उनको समितिको ९ वर्ष ५ महिनाको कार्यकाल सम्पन्न भएकोमा कदर व्यक्त गर्दै मेजर पालिजार तामाङको नेतृत्वमा नयाँ कार्यसमिति गठन भएको घोषणा गरिएको थियो ।
कार्यक्रममा इन्टेक स्वयंसेवकद्वारा गीत तथा नृत्य प्रस्तुत गरिनुका साथै चर्चित कलाकार निरा थापा मगर र पदम राईको सांगीतिक प्रस्तुति रहेको थियो । आधा तोला सुनसहित विभिन्न आकर्षक पुरस्कारको लक्की ड्रसमेत आयोजना गरिएको थियो ।
दिवंगत सहयोद्धाको सेवा, साहस र बलिदानलाई स्मरण गर्दै समारोह राति ११ बजे सफलतापूर्वक सम्पन्न भएको थियो ।


