लन्डन । तमु धीं भवन बेलायतमा अन्तर्राष्ट्रिय कराते च्याम्पियन एरिका गुरुङलाई सम्मान गरिएको छ ।
मिचेटस्थित तमु धीं यूके भवनमा २ फेब्रुअरी २०२६ मा एक कार्यक्रमबीच तमु धीं यूकेले चर्चित खेलाडी एरिका, उनको कोच कुशल श्रेष्ठ र अन्तर्राष्ट्रिय कराते रेफ्री तारा श्रेष्ठ (गुरुङ)लाई स्वागत सम्मान गरेको हो । सम्मानित हुनेहरुलाई अध्यक्ष जुमकाजी गुरुङ, आमा समूहकी अध्यक्ष कमला देवी गुरुङ पुष्पगुच्छा, फेटा, पछ्यौरा, सम्मान पत्र र मायाको चिनो प्रदान गरे । सोही अवसरमा उनलाई बिदाइ गरिएको थियो ।
एरिका कराते खेल प्रशिक्षणका लागि बेलायत आएका हुन् । तालिममा सहभागी हुन कराँते खेलाडी एरिकासहित कुशल श्रेष्ठ, तारा गुरुङ टर्कीबाट २६ जनवरी २०२६ मा लन्डनको हिथ्रो एयरपोर्ट आइपुगेकी थिइन् ।
एरिकाले विश्व कराते महासंघ (डब्लुकेएफ) को आयोजनामा टर्कीको इस्तानबुलमा २५ जनवरीमा भएको प्रिमियर लिग ६८ केजीमाथिको तौल समूहमा रजत पदक जितेकी थिइन् । नेपालका लागि धेरै स्वर्ण र रजत पदक दिलाउन सफल एरिकाको बेलायत भ्रमण पहिलो पटक हो ।
एरिका तमु धीं यूकेले प्रदान गर्ने पहिलो तमु प्रतिभा पुरस्कार-२०२४ प्राप्त नेपाली खेलाडी हुन् ।
कार्यक्रममा तमु धीं यूकेका निवर्तमान अध्यक्ष हरि गुरुङले तमु धीं यूकेले स्थापनाकालदेखि अहिलेसम्म गर्दै आएको सामाजिक कामहरुको बारेमा जानकारी गराए भने ट्रस्टी सूर्य गुरुङ र आमा समूहकी संस्थापक अध्यक्ष पुनम गुरुङले शुभकामना दिएका थिए ।

अध्यक्ष जुमकाजी गुरुङको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा उपाध्यक्ष कमल गुरुङले स्वागत मन्तव्य दिएका थिए भने कार्यक्रम महासचिव डा.विशाल गुरुङले संचालन गरेका थिए ।
कोच कुशल श्रेष्ठले नेपालमा कराते खेलको बारेमा र एरिकाले गरेको उपलब्धिहरुको खुलेर तारिफ गरेका थिए । एरिकाले अब केही वर्षमा नै अझ नयाँ-नयाँ कीर्तिमानहरु राख्ने योजना बनाएको जानकारी दिइन् ।
एरिकाले विदेशमा आएर पनि आफ्नो समुदायले यसरी माया गरी दिएकोमा आभार व्यक्त गर्दै अझ धेरै राम्रो खेल खेलेर नेपाललाई धेरैभन्दा धेरै ठाउँमा चिनाउने धारणा राखे ।
कार्यक्रमको अन्तमा अध्यक्ष जुमकाजी गुरुङले अझ खेल जगतमा एरिका अनि टिमको उत्तरोत्तर प्रगतिको कामना गरे । उनले कार्यक्रममा उपस्थित अतिथि, तमु धीं यूकेका पदाधिकारी, सदस्य र शुभचिन्तकहरुलाई धन्यवाद दिँदै समापन गरे ।





