लन्डन । क्वोंने (घोताने/घोण्डे) गुरुङ (तमु) समाज यूकेको टोली नेपाल पुगेको छ ।
मुस्ताङको कागबेनीमा क्वोंने (घोताने/घोण्डे) गुरुङ (तमु) समाज यूकेको लगानीमा बनाएको क्वोंने कानिङ गुम्बा उद्घाटन लगायत कार्यक्रमका लागि समाजका अध्यक्ष कुमार गुरुङ नेतृत्वको टोली सोमबार २ फेब्रुअरी २०२६ बिहान नेपाल पुगेको हो । टोलीलाई व्यवसायी तथा समाजसेवी विजय गुरुङ लगायतले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए ।
टोलीमा २५ जना हाराहारीमा छन् । समाजका केही व्यक्तिहरु यसअघि नै नेपाल पुगिसकेका छन् भने केही जाने क्रममा छन् । यस पटकको भ्रमण टोलीमा ३०-४० जना रहेको क्वोंने (घोताने/घोण्डे) गुरुङ (तमु) समाज यूकेका महासचिव इन्द्र घोतानेले जानकारी दिएका छन् ।

कागबेनीमा निर्मित क्वोंने कानिङ गुम्बा ११ फेब्रुअरीमा उद्घाटन गरिने कार्यक्रम छ । उक्त कार्यक्रममा क्वोंने दाजुभाइ तथा चेलीबेटी हङकङ, काठमाडौं, पोखरालगायतबाट समेत सहभागी हुने समाजका अध्यक्ष कुमार गुरुङले बताए ।
नेपाल प्रस्थान गर्नुअघि आइतबार फेब्रुअरी १ मा हिथ्रो विमानस्थलमा समाजका अध्यक्ष कुमार गुरुङले भने, 'कागबेनीमा निर्माण गरिएको क्वोंने कानिङ गुम्बा उद्घाटन कार्यक्रम लगायत सबै व्यवस्थापन भइसकेको छ । यसका लागि धेरै दु:ख कोंने कानिङ गुम्बाका मुख्य कोअर्डिनेटर एपसी राजेन्द्र गुरुङले गर्नुभएको छ । उहाँलाई हाम्रो परिवारकै तर्फबाट धन्यवाद । पोखराबाट कागबेनी जाने ट्रान्सपोटेसन र कागबेनीमा लजिङको व्यवस्था मेजर लक्ष्मी गुरुङ साबले मिलाइसक्नुभएको छ,'
टोलीले नेपाल भ्रमणका क्रममा ३ फेब्रुअरीमा क्वोंने (घोताने/घोण्डे) गुरुङ (तमु) समाज नेपालको टिमसँग 'मिट एन्ड ग्रिट' गर्ने छ भने ८ तारिखमा क्वोंने (घोताने/घोण्डे) गुरुङ (तमु) समाज कास्की कास्कीसँग भेटघाट गर्ने छ ।
यस्तै आहा !रारा पोखरा गोल्डकप अन्तर्राष्ट्रिय म्याराथनलगायत थुप्रै कार्यक्रम सहभागी हुने र गाउँहरु घुम्ने योजना रहेको अध्यक्ष गुरुङले जानकारी दिए ।
क्वोंने (घोताने/घोण्डे) गुरुङ (तमु) समाज यूके चेलीबेटी प्रमुख लीना गुरुङले कानिङ गुम्बा उद्घाटन कार्यक्रम सफल हुने विश्वास व्यक्त गरिन् ।
यसैगरी संस्थाका संस्थापक संयोजक तथा प्रमुख संरक्षक क्या जीवन गुरुङले क्वोंने (घोताने/घोण्डे) गुरुङ (तमु) समाज यूकेको आर्थिक सहयोगमा बनाइएको गुम्बामा अस्तु सेलाउने, जुनै खालका पूजा पनि गर्न सकिने व्यवस्था रहेको जानकारी दिए । उनले ११ तारिखको उद्घाटन सकेपछि मौसमले साथ दिए टोली मुक्तिनाथ जाने तयारीमा रहेको पनि बताए ।
भ्रमण टोलीमा सहभागी सहारा यूकेका निवर्तमान अध्यक्ष तथा क्वोंने (घोताने/घोण्डे) गुरुङ (तमु) समाज यूके सल्लाहकार कृष्ण गुरुङले पारिवारिक भेटघाट, आहा ! रारा गोल्डकपमा सहभागी, कानिङ गुम्बा उद्घाटनमा उपस्थित हुने गरी बिदामा नेपाल जान लागेको बताए ।

यसैबीच पवित्र धार्मिक भूमि कागबेनीमा निर्माण गरिएको गुम्बाका सन्दर्भमा जानकारी दिन २०८२ माघ २० गते (३ फेब्रुअरी) मा काठमाडौंमा पत्रकार सम्मेलन आयोजना गरिँदै छ ।
तमू बौद्ध सेवा समिति,अनामनगरमा नेपाली समयअनुसार बिहान ८:४५ बजे पत्रकार सम्मेलन हुने सञ्चार संयोजन गरेका पत्रकार डण्ड गुरुङले जानकारी दिए ।
क्वोंने (घोताने/घोण्डे) गुरुङ (तमु) समाज यूकेले गत १७ जनवरीमा ऐतिहासिक दसौं वार्षिकोत्सव कार्यक्रम मनाएको थियो ।
कुमार गुरुङ २० अप्रिल २०२५ मा अल्डरसटस्थित सुसी मोटो रेष्टुरेन्टमा सम्पन्न संस्थाको नवौं वार्षिक साधरणसभाबाट अध्यक्ष पदमा नियुक्त भएका थिए । अध्यक्ष क्याप्टेन पिताम्बर गुरुङले राजीनामा दिएपछि
उपाध्यक्ष पदमा रहेका उनलाई जिम्मेवारी सुम्पेको हो ।
नवनियुक्त अध्यक्ष कुमारले यसअघि सहारा यूके, धम्पुस समाज यूकेको सफलतापूर्वक नेतृत्व गरिसकेका छन् । साथै उनी तमुधीं यूकेलगायत अन्य थुप्रै सामाजिक संस्थाहरुमा सम्बद्ध छन् ।
