लन्डन । नेपाली कराँतेकी स्टार खेलाडी एरिका गुरुङलाई यूकेमा भव्य रूपमा स्वागत तथा सम्मान गरिएको छ । प्रशिक्षणका लागि आएकी गुरुङलाई तमु धीं यूके र सहारा यूकेले फार्नबोरोस्थित गोर्खा प्यालेस रेस्टुरेन्ट फार्नबोरोमा डिनरसहितको कार्यक्रम आयोजना गरेर स्वागत तथा सम्मान गरेका हुन् ।
तमु धीं यूकेका महासचिव डा. विशाल गुरुङले परिचयसँगै कार्यक्रम अघि बढाएका थिए । उपाध्यक्ष कमल गुरुङले स्वागत मन्तव्य राखेका थिए । एरिकाको बारेमा कोच कुशल श्रेष्ठले बताएका थिए ।

तमु धीं यूकेका अध्यक्ष जुमकाजी गुरुङले अन्तर्राष्ट्रिय पदक विजेतासमेत रहेकी एरिकालाई संस्थाले यसअघि नै प्रतिभा पुरस्कारबाट सम्मान गरिसकेको उल्लेख गर्दै पुन: स्वागत र सहयोग गर्न पाउँदा खुसी लागेको बताए ।
सहारा यूकेले पनि नेपालको सान बनेकी एरिकालाई स्वागत गर्न पाउँदा खुसी व्यक्त गरेको छ । क्वोंने (घोताने/घोन्डे) गुरुङ (तमु) समाज युकेका अध्यक्ष कुमार गुरुङ र सहाराले पनि एरिकालाई सहयोग गरेका थिए । कुमारले कार्यक्रम आयोजना गरेकोमा संस्थालाई धन्यवाद पनि दिए । तमु धीं यूकेले पहिलेदेखि नै एरिकालाई सहयोग गरिरहेको छ । यस पटक पनि विशेष सहयोग गरेको छ ।

कार्यक्रममा तमु धीं यूकेका आमा समूहका अध्यक्ष कमलादेवी गुरुङ, पूर्वअध्यक्ष रामचन्द्र गुरुङ, गोर्खा प्यालेसका प्रोप्राइटर एवं एनआरएनए आईसीसी सल्लाकार सूर्य गुरुङ, पूर्वअध्यक्ष नन्दजंग गुरुङ, सहारा यूकेका अध्यक्ष शारदा गुरुङ र निवर्तमान कृष्ण गुरुङ, सहारा यूकेका पूर्वअध्यक्ष कुसाङ गुरुङ र उनकी धर्मपत्नी पञ्च गुरुङ, तमु धीं यूके कार्यसमिति सदस्य टंक मार्टिन गुरुङ, सल्लाहकार दिलराश गुरुङ, संस्थापक अध्यक्ष मीनप्रसाद गुरुङ तथा कलाकारद्वय सलोमी गुरुङ र केशबहादुर गुरुङ पनि उपस्थित थिए ।

कार्यक्रममा बोल्दै एरिकाले बेलायत आउने आफ्नो सपना पूरा भएको र विमानस्थलमा तथा रेस्टुरेन्टमा भएको स्वागतले घर नै आएको जस्तो अनुभूति भएको बताइन् । तमु धीं यूकेसहित अन्यबाट प्राप्त स्वागत र सहयोगले गर्दा आफूलाई अझ राम्रो गर्ने हौसला मिलेको र उत्कृष्ट प्रदर्शन गरेर नेपालको नाम थप उँचो बनाउने प्रतिबद्धतासमेत उनले जनाइन् ।
एरिकासँगै उनका प्रशिक्षक कुशल श्रेष्ठ, नेसनल रेफ्री तारा गुरुङ र स्वर्ण पदक विजेता खेलाडी प्रज्योसोन श्रेष्ठलाई पनि स्वागत तथा सम्मान गरिएको थियो ।

