लन्डन । स्याङ्जा समाज यूकेको अध्यक्षमा रुपा गुरुङ सर्वसम्मत चयन भएकी छन् ।
लन्डन पोष्ट अफिस स्पोर्ट्स क्लब सडबडी हिल, ह्यारो लन्डनमा आइतबार २५ जनवरी २०२६ मा स्याङ्जा समाज यूकेका अध्यक्ष भरत गुरुङको अध्यक्षतामा सम्पन्न महाधिवेशनबाट रुपा (दुर्गा) गुरुङको अध्यक्षमा नयाँ कार्यसमिति चयन भएको हो । अध्यक्षमा भक्त दर्जीको दाबी भए पनि सहमतिअनुसार यो कार्यकालमा रुपा र अर्को कार्यकालमा भक्तलाई नेतृत्व दिन सहमत गराइएको छ ।
नयाँ कार्यसमितिमा वरिष्ठ उपाध्यक्षमा भक्त दर्जी, उपाध्यक्षहरुमा भिम गुरुङ, रामराज शर्मा, महासचिवमा याम गुरुङ, कोषाध्यक्षमा लेख गुरुङ, सहकोषाध्यक्षमा अमृत गुरुङ, महिला संयोजकमा पार्वती गुरुङ, प्रवक्ता गोमा राना चयन भएका छन् ।
सदस्यहरुमा जुनु विश्वकर्मा, युवराज गुरुङ, अमृत गुरुङ, फोटोग्राफीमा श्याम थापालगायत रहनुभएको छ । केही रिक्त सदस्य पदमा पहिलो बैठकबाट मनोनयन गरिने भएको छ । नयाँ कार्यसमितिलाई आइतबार नै पद तथा गोपनियताको शपथग्रहण गराइएको छ ।
अध्यक्ष रुपा गुरुङले आफूलाई विश्वास गरेर पदभार दिएकोमा पूर्ण रुपले जिम्मेवारी वहन गर्ने, संस्थाको गरिमालाई उच्च पार्न सक्दो प्रयत्न गर्ने प्रतिबद्धता जनाइन् । उनले निवर्तमान अध्यक्ष भरत गुरुङ र उहाँको टिमलाई धन्यवाद व्यक्त गरेका थिए ।
नयाँ कार्यसमिति चयनका लागि संस्थापक अध्यक्ष शारदा गुरुङको निर्वाचन प्रमुख रहेको समिति बनाइएको थियो । निर्वाचन समितिमा सदस्य क्या. डोल गुरुङ, श्रीप्रसाद गुरुङ, मदन राना रहेका थिए ।

महाधिवेशनमा अध्यक्ष भरत गुरुङ, प्रमुख अतिथि स्याङ्जा सहयोग समाज अध्यक्ष मिन क्षत्री, संस्थापक अध्यक्ष शारदा गुरुङ, संरक्षक थर्क सेन, दिपक (डेबिड) गुरुङ तथा महिला संयोजक हुमकुमारी गुरुङले दिप प्रज्वलन गरी समुद्घाटन गरेका गरेका थिए ।
कार्यक्रमको पहिलो सत्रमा संस्थाका उपाध्यक्ष भक्त दर्जीले स्वागत मन्तव्य राखेका थिए भने संस्थापक अध्यक्ष, संरक्षकहरु, प्रमुख सल्लाहकार, विभिन्न संघ संस्थाका अध्यक्षहरु र अन्य विशिष्ट व्यक्तिबाट आ-आफ्नो भनाइ राख्दै संस्थाका गतिविधिका साथै उन्नति प्रगतिको सकारात्मक सन्देश र मन्तव्य राखेका थिए ।
संरक्षक थर्क सेन, श्रीप्रसाद गुरुङ, प्रेम गुरुङ, डा.बलराम ढकाल, संरक्षक दिपक (डेबिड) गुरुङ, सुनिल राना, नारायण गुरुङ, मदन राना, जगदीश गुरुङ, सहारा यूकेका पूर्वअध्यक्ष कृष्ण गुरुङ, इंग्ल्यान्ड राज्यका पूर्वअध्यक्ष लालबहादुर गुरुङ, हेमराज थापा, बडी बिल्डिङ यूकेका अध्यक्ष गंगा गुरुङ, आमा समूह संयोजक हुमकुमारी गुरुङलगायतले शुभकामना मन्तव्य राखेका थिए ।
कार्यक्रम संस्थाका महासचिव रामराज शर्माले सन्चालन गरेका थिए । संस्था स्थापना गर्नुको मुख्य उद्देश्य महत्त्व,आफ्नो कार्यकालको परोपकारी कामको विवरण र स्याङ्जा जिल्लालाई दिएको सहयोगको विस्तृत विवरण प्रस्तुत गरिएको थियो ।
त्यस्तै कोषाध्यक्ष शिव सापकोटाले आर्थिक पक्ष बलियो बनाउँदै स्थापनाकालदेखि कोभिडको महामारीमा समेत जिल्लामा उल्लेखनीय आर्थिक, भौतिक सहयोगको विस्तृत विवरण प्रस्तुत गरेका थिए ।
प्रमुख अतिथि मिन क्षत्रीले विदेशमा रहेर पनि आफ्नो मातृभूमि त्यसमा पनि स्याङ्जा जिल्लामा आर्थिक, भौतिक, भावनात्मक सहयोग गरेकोमा सबै जिल्लावासी र अध्यक्ष भरत गुरुङ र उनको टिमलाई धन्यवाद दिएका थिए । यस्तै आगामी कार्यसमितिको सहयोगको अपेक्षा राख्दै सम्मानको कदरपत्र पढेर सुनाउँदै सफलताको शुभकामना व्यक्त गरेका थिए । आफूप्रति दिएको सम्मान अत्यन्तै अविस्मरणीय रहेकोमा अध्यक्ष क्षत्रीले खुसी व्यक्त गरेका थिए ।
पहिलो सत्रको अन्त्यमा अध्यक्ष भरत गुरुङले आफ्नो कार्यकालमा विभिन्न महत्वपूर्ण उल्लेखनीय काम गरेर कार्यकाल सफल पारिदिएकोमा पदाधिकारीहरु, संरक्षकहरु, सल्लाहकारहरु, महिला संयोजक र टिम, कार्यसमितिलगायत प्रत्यक्ष अप्रत्यक्ष सहयोग गरेकोमा धन्यवाद दिँदै जिल्लाका विभिन्न शाखालाई खादा र मायाको चिनो प्रदान गर्दै उपस्थित सबैलाई धन्यवाद दिएका थिए । संस्था एकजुट भएर अगाडि बढेमा उल्लेखनीय काम गर्न, विभिन्न कठिनाइको सामना गर्न सजिलो र काम गर्न सहज, रमाइलो हुने अनुभव सनाउँदै आफ्नो कार्यकाल समापन भएको घोषणा गरे ।