लन्डन । तमु धीं यूकेको ल्होछार समीक्षा बैठक सम्पन्न भएको छ ।
मिचेटस्थित तमु धीं भवनमा आइतबार २५ जनवरीमा अध्यक्ष जुमकाजी गुरुङको अध्यक्षतामा ‘त ल्हो’ (ल्होछार समीक्षा बैठक बसेको हो । तमु (गुरुङ) समुदायको नयाँ वर्ष ‘त ल्हो’ (ल्होछार) तमु धीं यूकेले २७ डिसेम्बर २०२५ मा अल्डरसटस्थित एम्पायर बैंक्वेटिङ एन्ड हलमा मनाएको थियो ।
सुरुमा महासचिव डा विशाल गुरुङले हेल्थ एन्ड सेफ्टीबारे जानकारी दिँदै बैठक सञ्चालन गरेका थिए । स्वागत मन्तव्य वरिष्ठ उपाध्यक्ष तथा ल्होछार कार्यक्रम संयोजक परशु गुरुङले राखेका थिए । संयोजक उपाध्यक्ष परशु गुरुङले ल्होछार कार्यक्रमको सकारात्मक र नकारात्मक सबैलाई जानकारी दिए । यस्तै अतिथि संयोजक उपाध्यक्ष दिलमाया गुरुङले अतिथिबारे राखेकी थिइन् । कोषाध्यक्ष अरुण गुरुङले आय-व्यय प्रस्तुत गरे ।
अध्यक्ष जुमकाजी गुरुङ र महासचिव डा विशाल गुरुङले ल्होछार महोत्सवबारे विस्तृत रुपमा बताएका थिए । यस्तै तमु धीं यूकेका ट्रस्टी एकेन्द्र गुरुङले फ्रेंसी प्रकाशनबारे जानकारी राखेका थिए । राफल ड्रबारे आमा समूहकी महासचिव शान्त गुरुङले बताएकी थिइन् ।
यस वर्षको ल्होछार कार्यक्रम भव्य र सफल भएको निष्कर्ष निकालिएको छ । उक्त कार्यक्रममा करिब ८५० जनाको सहभागिता रहेको थियो । कार्यक्रमका प्रमुख अतिथि नेपाली दूतावास, लन्डनका कार्यवाहक राजदूत विपिन दुवाडी थिए ।
तमु धीं यूकेकै निमन्त्रणामा ल्होछार कार्यक्रमका लागि बेलायत आएका नेपाली अतिथि कलाकारहरुलाई सोही बैठकमा बिदाइ गरिएको थियो । चर्चित मौलिक गायक 'कौडा किङ' दुर्गा गुरुङ, लोकगायक केशबहादुर गुरुङ र गायिका सलोमी गुरुङलाई खादा, फेटा र मायाको चिनोसहित बिदाइ गरिएको हो । कलाकारत्रयले पनि नेपालबाट ल्याएका मायाको चिनो तमु धीं यूकेलाई प्रदान गरे ।

यसैगरी विभिन्न संघसंस्थामा निर्वाचित, मनोनयन र चयन भएकाहरूलाई खादा र फेटासहित बधाई तथा शुभकामना दिइएको थियो ।
बैठकमा खेलकुद सचिव क्या दीपकराज घलेले आगामी मे २४ मा हुने बेलायतमै लोकप्रिय गोर्खा कप २०२६ कसरी हुँदैछ र के-के हुँदैछ भन्नेबारे पावरप्वाइन्टमार्फत् सबैलाई प्रस्ट्याएका थिए ।
कार्यक्रममा तमु धीं यूके र आमा समूहका पूर्व र वर्तमान पदाधिकारीको उपस्थिति थियो । त्यसअघि तमु धीं यूकेले गण्डकी प्रदेशसभा सांसद तथा पूर्वमन्त्री पञ्चराम गुरुङसहित तीन जनालाई सम्मान गर्यो । गण्डकी प्रदेशका पूर्वसामाजिक विकास तथा स्वास्थ्यमन्त्री तथा राप्रपा नेता पञ्चराम गुरुङ, क्वोंने (घोताने/घोण्डे) गुरुङ (तमु) समाज नेपालको केन्द्रीय उपाध्यक्ष चित्रबहादुर गुरुङ र एनआरएनए आईसीसीकी महिला सचिव टीका (राधिका) गुरुङलाई फेटा, खादा, पछ्यौरी, मायाको चिनो, पुष्पगुच्छासहित तमु धीं यूकेका अध्यक्ष जुमकाजी गुरुङ, आमा समूहकी अध्यक्ष कमला देवी गुरुङलगायतले स्वागत, सम्मान गरेका हुन् ।
सम्मानित हुनेहरुले पनि आयोजक संस्थालाई धन्यवाद र आभार प्रकट गरे । पूर्वमन्त्री गुरुङले विदेशमा आउँदा यति ठूलो सम्मान पाएकोमा आफूलाई भाग्यमानी ठानेको बताए ।
अध्यक्ष जुमकाजी गुरुङले पूर्वमन्त्री, एनआरएनएकी महिला सचिव,क्वोंने गुरुङ समाज नेपालको केन्द्रीय उपाध्यक्षलगायतलाई संस्थाले सम्मान गर्ने अवसर मिलेकोमा समयको लागि धन्यवाद दिँदै कार्यक्रम उपस्थित सबैप्रति आभारसहित कार्यक्रम समापन गरेका थिए ।








