लन्डन । ब्रिटेन नेपाल चेम्बर अफ कमर्स (बीएनसीसी)को अध्यक्षमा विराज भट्ट चयन भएका छन् ।
नेपाली दूतावास लन्डनमा शुक्रबार सम्पन्न संस्थाको वार्षिक साधारणसभाले ट्राभल व्यवसायी भट्टको अध्यक्षतामा सर्वसम्मत नयाँ कार्यसमिति गठन गरेको हो । उनी यसअघि उपाध्यक्ष थिए । कार्यसमितिको उपाध्यक्षद्वयमा इन्द्र गिरी र कमल पौडेलला र सचिवमा राजेन्द्र श्रेष्ठ चयन भएका छन् ।
सदस्यहरुमा प्रभु न्यौपाने, कृष्ण भट्ट, सन्तोष मण्डल, नाडिया विलियम्स्, अन्जनी फुंयाल, प्रकाश ढुंगाना, अनिल न्यौपाने, दीपक श्रेष्ठ, मोसाद अन्जिज, वीपी खनाल, वसन्त नेपाल, विकास नेपाल र क्याम्पबेल मिचेल चुनिएका छन् । संस्थाको सीइयो स्टिभ बक्ले चुनिएका छन् ।
संरक्षक कार्यवाहक राजदूत विपिन दुवाडीले नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा निवर्तमान कार्यसमितिको सफल कार्यकालप्रति कृतज्ञता व्यक्त गरे । उनले बेलायत र नेपालबीच आयात र निर्यात गरी २५० मिलियन पाउन्ड व्यापार भएको तथ्यांक पेस गर्दै एक दशकयता सन् २०१९ मा कुल व्यापार ६०९ मिलियन पाउन्ड रहेको जानकारी दिए ।
नवनिर्वाचित अध्यक्ष भट्टले संस्थाले बेलायतमा रहेका नेपाली व्यवसायीहरुलाई थप समेट्दै नेपालमा लगानी वृद्धिका लागि निरन्तर पहल गर्ने बताए । उनले आउँदो अक्टोबर २०२६ मा नेपालमा ट्रेड मिसन लैजाने योजना रहेको जनाउँदै संस्थाले दोहोरो कर प्रणाली हटाउने सम्बन्धमा निरन्तर ‘लबी’ गर्ने पनि बताए ।
कार्यक्रममा मिडल्याण्डका सफल व्यवसायीहरु दयानिधि सापकोटा, सुरेश केसी, वरिष्ठ पत्रकार भगिरथ योगी, मोर्गेज एड्भाइजर रमेश सराङकोटी,चार्टर्ड अकाउन्टेन्ट तथा व्यवसायी एलएन पाण्डे, बीएनसीसीका संस्थापक सदस्य महन्त श्रेष्ठ, अनररी अध्यक्ष आदम गिलक्रिष्ट, व्यवसायी राज पाण्डे, अन्जनी फुँयाल, बासु लामिछानेलगायतको उपस्थिति थियो ।
