लन्डन । क्वोंने (घोताने/घोण्डे) गुरुङ (तमु) समाज यूकेले समाज स्थापना भएको १० वर्ष पुगेको उपलक्ष्यमा दसौँ वार्षिकोत्सव समारोह सम्पन्न गरेको छ । अल्डरसटस्थित एम्पायर हलको भव्य सजाएको हलमा दाजुभाइ र चेलीबेटीको बाक्लो उपस्थितिमा कार्यक्रम गरेको हो ।
समाजका ज्येष्ठ सदस्य ८४ वर्षीय जीतबहादुर गुरुङ प्रमुख अतिथि र गण्डकी प्रदेशका पूर्वसामाजिक विकास तथा स्वास्थ्यमन्त्री पन्चराम गुरुङ विशेष अतिथि रहेका थिए । समाजको पदाधिकारीहरू र अग्रज सदस्यहरूले पाइपरको धुनसँगै प्रमुख अतिथि, विशेष अतिथि र चेलीबेटीहरूलाई हलमा भव्य स्वागत गरेका थिए ।

समाजका अध्यक्ष, प्रमुख अतिथि, विशेष अतिथि, चेलीबेटी प्रमुख, संस्थापक अध्यक्ष तथा केन्द्रका वरिष्ठ उपाध्यक्षले संयुक्त रूपमा पानसमा दियो बालेर औपचारिक कार्यक्रम सुरु गरेका थिए ।
लगत्तै दसौँ वार्षिकोत्सव समारोहको संयोजक समाजको उपाध्यक्ष राम गुरुङले समाजको तर्फबाट उपस्थित सबै जनालाई स्वागत गरेका थिए । नेपाली र गुरुङ राष्ट्रिय गान बजाएको थियो भने कुल पितृहरूको नाममा एक मिनेट मौन धारण भएको थियो ।

प्रमुख अतिथि गुरुङले भाइ खलकको कार्यक्रममा प्रमुख अतिथि हुन पाउँदा खुसी लागेको जनाउँदै समाजको प्रगतिको लागि शुभकामना दिए । त्यस्तै, विशेष अतिथि पूर्वमन्त्री गुरुङले पनि क्वोंने (घोताने/घोण्डे) गुरुङ (तमु) समाज यूकेको निमन्त्रणामा समाजको वार्षिकोत्सव कार्यक्रममा सहभागी हुन पाउँदा खुसी लागेको बताए ।
उनले भव्य आतिथ्यको लागि समाजप्रति कृतज्ञतासमेत व्यक्त गरे । ‘समाजको सबैभन्दा बलियो चिज भनेको एकता हो र एकता भई अगाडी बढेमा जस्तोसुकै काम पनि गर्न सकिन्छ,’ उनले भने, ‘नेपाल आउँदा सकेको मद्दत गर्ने प्रतिबद्धता व्यक्त गर्छु ।’

दसौँ वार्षिकोत्सवको अवसरमा समाजले प्रकाशन गरेको कोन्मैं सुँताँ स्मारिका पनि विमोचन गरिएको थियो । स्मारिका प्रकाशन समितिको प्रमुख संयोजक तथा प्रधान सम्पादक चित्रबहादुर गुरुङले स्मारिकाको लागि लेख, रचना, विज्ञापन अनि शुभकामना दिने सदस्यहरूलाई धन्यवाद दिए ।
वार्षिकोत्सवको खुसीयालीमा केक पनि काटिएको थियो । नेपालबाट प्रतिनिधिको रूपमा सहभागी क्वोंने (घोताने/घोण्डे) गुरुङ (तमु) समाज नेपालको वरिष्ठ उपाध्यक्ष इन्द्रकुमारी गुरुङ, उपाध्यक्ष चित्रबहादुर गुरुङ र सचिव चन्द्रमान गुरुङले यूकेको निमन्त्रणा समाजको दसौँ वार्षिकोत्सव कार्यक्रममा सहभागी हुन पाउँदा औधी खुसी लागेको बताए ।

संस्थापक अध्यक्ष नरजङ गुरुङले पनि संस्था स्थापनाकालको स्मरण गराउँदै दसौँ वार्षिकोत्सव मनाउन पाउँदा धेरै खुसी लागेको बताए । चेलीबेटी प्रमुख लिना गुरुङले दाजुभाइहरूसँग काँधमा काँध मिलाएर सहकार्य गर्न पाएको बताइन् ।
कार्यक्रममा समाजले १० वर्षभित्र गरेका योगदानको भिडियो पनि देखाइएको थियो । यूकेका विभिन्न संघसंस्थाहरुमा अध्यक्ष उपाध्यक्ष लगायत नेतृत्व पदमा निर्वाचित वा चयन भएका दाजुभाइ र चेलीबेटीलाई सम्मानसहित शुभकामना व्यक्त गरिएको थियो ।

चर्चित कलाकार सुनिला गुरुङ तथा मौसम गुरुङले चर्चित नेपाली तथा गुरुङ गीत गाएर उपस्थित सबैलाई भरमुग्धर मनोरञ्जन गराए । राफल ड्र पनि गराइएको थियो । औपचारिक कार्यक्रम महासचिव इन्द्र घोतानेले तथा सांस्कृतिक कार्यक्रम सल्लाहकार कृष गुरुङले सञ्चालन गरेका थिए ।
औपचारिक कार्यक्रमको अन्त्यमा अध्यक्ष कुमार गुरुङले समाजलाई १० वर्ष पार गर्न सहयोग गर्ने अग्रजलाई धन्यवाद दिए । कार्यक्रम सफल बनाउन प्रत्यक्ष तथा परोक्ष रूपमा सहयोग गर्ने भूपू तथा वर्तमान पदाधिकारी र सदस्यलाई धन्यवाद दिए ।
प्राविधिकमा समाजका प्रवक्ता तथा मिडिया सेक्रेटरी टोउ गुरुङले सहयोग गरेका थिए । फोटोग्राफीमा भाइखलक सन्तोष क्वोंने, ओमकार गुरुङ र गोर्खा मिडियाका प्रबन्ध निर्देशक मिलन तमुले सहयोग गरेका थिए ।


