अल्डरसट । सहारा यूकेको नवौँ कार्य समितिको पहिलो बैठक सम्पन्न भएको छ । १८ जनवरी, आइतबारका दिन अल्डरसटस्थित एम्पायर हलमा भएको बैठकले केही महत्त्वपूर्ण निर्णयहरू गरेको छ ।
बैठकको सुरुमा महासचिव प्रकाश गुरुङले स्वास्थ्य र सुरक्षाबारे जानकारी गराएका थिए । उपाध्यक्ष क्या. पीताम्बर गुरुङले स्वागत मन्तव्य राखेका थिए ।
त्यसपछि, संस्थापक अध्यक्ष नवीन गुरुङ र अध्यक्ष शारदा गुरुङले पानसमा बत्ती बालेर बैठक उद्घाटन गरे । सो अवसरमा गण्डकी प्रदेशका पूर्वमन्त्री पञ्च गुरुङलाई स्वागत तथा सम्मान गरिएको थियो ।

नेपाल जान लागेका मेजर सूर्य गुरुङ र उनकी छोरीलाई खादा लगाएर बिदाइसमेत गरिएको थियो । सम्मानित पूर्वमन्त्री गुरुङले स्वागत तथा सम्मानप्रति आभार व्यक्त गर्दै समाज सेवामा सहारा यूकेले पुर्याएको योगदानको कदर गरेका थिए ।
बैठकमा संस्थाका हालका गतिविधि र रणनीतिबारे पनि छलफल भएको थियो । कोषाध्यक्ष जगन गुरुङले आर्थिक अवस्थाबारे जानकारी गराएका थिए। संस्थाले भूकम्पको समयमा निर्माण गरेका तीन वटा स्कुल र आहा रारा गोल्डकपलाई सहयोगका लागि फन्ड रेजिङ गर्ने निर्णय बैठकले गरेको छ ।

यस्तै, अक्षयकोषका लागि फन्ड रेजिङ गर्ने र कोषमा योगदान गर्न बाँकी रहेकालाई गर्न पनि अनुरोध गरिएको छ । आहा रारा गोल्डकपको बारेमा छलफल भएको थियो । फुटबलको बारेमा कसरी जाने भन्ने विषयमा पनि पूर्वअध्यक्ष कुमार गुरुङ र अध्यक्षले जानकारी गराएका थिए ।
संस्थाले भावी योजनाहरू पनि चाँडै सार्वजनिक गर्ने बैठकमार्फत जानकारी गराइएको छ । अन्त्यमा अध्यक्षले उपस्थित सबैलाई धन्यवाद दिँदै कार्यक्रम समापन गरेका थिए ।