लन्डन । नेपालकी करातेकी स्टार खेलाडी एरिका गुरुङले यूकेमा आयोजना हुने नवौँ हार्लो ओपन अन्तर्राष्ट्रिय कराते च्याम्पियनसिप खेल्ने भएकी छन् ।
आगामी २५ जनवरी २०२६ मा यूकेको हार्लोमा हुने प्रतियोगितामा उनले नेपालको प्रतिनिधित्व गर्दै प्रतिस्पर्धा गर्नेछिन् । त्यसपछि ५ फेब्रुअरी २०२६ सम्म हुने अन्तर्राष्ट्रिय एलिट ट्रेनिङ क्याम्पमासमेत उनी सहभागी हुने कार्यक्रम छ ।
धादिङमा जन्मिएकी एरिकाले यसअघि पनि विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै नेपालको नाम राख्न सफल भएकी छन् । जसको सम्मानस्वरुप उनलाई तमु धीं यूकेले ‘तमु प्रतिभा पुरस्कार-२०२४’ बाट सम्मानसमेत गरिसकेको छ ।
तमु धीं यूकेले मायाको चिनो, प्रमाणपत्र र नगद ५१ हजार रुपैयाँसहित पुरस्कृत गरेको थियो । यस पटक पनि संस्थाले एरिकालाई सहयोग गर्ने जनाएको छ । उनको हौसलाको लागि पनि मैदानमै उपस्थित भएरसमेत प्रोत्साहन गर्ने तमु धीं यूकेले जनाएको छ ।
एरिकाले १०औँ विश्व सितोरियो करातेमा स्वर्ण, १९औँ एसियन गेम्स र २०औँ एसियन सिनियर करातेमा रजत, १६औँ एसिया–प्यासिफिक सितोरियो करातेमा स्वर्ण पदक जितेकी छन् ।
यसका साथै, वर्ल्ड कराते–१ सिरिज ए, अस्ट्रेलियन ओपन, यूएसए ओपन, थाइल्यान्ड ओपन जस्ता प्रतिष्ठित प्रतियोगितामा पदक हासिल गर्दै उनले विश्वस्तरमा आफ्नो क्षमता प्रमाणित गरिसकेकी छन् ।
यस्तै, वर्ल्ड च्याम्पियनसिपका लागिसमेत छनोट भइसकेकी छन् । नेपालमा २०८० र २०८१ सालमा महिलातर्फ ‘बेस्ट प्लेयर अफ द इयर’ उपाधि प्राप्त गरेकी थिइन् ।
खेलमार्फत नेपालको पहिचान विश्वमा फैलाउँदै आएकी एरिकाको यूकेमा हुने यो प्रतिस्पर्धाले फेरि एकपटक नेपाली करातेको स्तर र सम्भावनालाई अन्तर्राष्ट्रिय मञ्चमा उजागर गर्ने विश्वास लिइएको छ ।