लन्डन । तमु प्ये ल्हु संघ यूकेले त–ल्होसार महोत्सव भव्य रुपमा सफल भएको निष्कर्ष निकालेको छ ।
संघको १७ जनवरी २०२६ शनिबार आफ्नै भवन, रिडिङमा बसेको त–ल्होसार समीक्षा बैठकले गत ३० डिसेम्बर २०२५ मंगलबार हेरो लेजर सेन्टर हेरो लन्डनमा सम्पन्न भएको त–ल्होसार महोत्सव सफल भएको निष्कर्ष निकालेको हो । बैठकमा त–ल्होसार महोत्सव कार्यक्रमको विविध पक्षमा बृहत् छलफल गर्दै बीस हजार पाउन्डभन्दा बढी आर्थिक लाभसहित भव्य रुपमा सफल भएको निचोड निकालिएको संघका अध्यक्ष क्या डेमबहादुर गुरुङले जानकारी दिए । उनका अनुसार आगामी ल्हु–ल्होसार महोत्सव ३० डिसेम्बर २०२६, बुधबार हेरो लेजर सेन्टरमै मनाउने निधो गरिएको छ ।
बैठकमा उपस्थित पदाधिकारी, सल्लाहकार, खेगीगुरुहरु, आमा समूहलगायत सदस्यले महसुस गरेको तथा देखेको कमीकम्जोरीहरुमा सुझाव दिएका थिए भने सकारात्मक पक्षहरुमा खुलेर प्रशंसासहित धन्यवाद व्यक्त गरिएको थियो ।
त–ल्होसार समीक्षाबाहेक अन्य विविध विषयहरुमा समेत छलफल गरी निर्णय गरिएको अध्यक्ष क्या डेमबहादुरले बताए । बैठकको दोस्रो चरणमा आगामी ७ फेब्रुअरी २०२६, शनिबारको दिनमा हुने संघको २१औं वार्षिक साधारणसभा तथा ७औं सम्मेलनको बारेमा प्रारम्भिक तयारीको लागि छलफल गरिएको थियो भने निकट दिनमै प्रभावकारिताको लागि सुझाव संकलन गरी कार्यक्रमको रुपरेखा तयार गर्ने निर्णय भएको थियो ।
विविध विषयमा प्रोपर्टीको अपडेट, प्ये संकलन, लेखन तथा प्रकाशन योजना, क्होँईबो निर्माण योजनाको लागि आर्थिक सहयोग, क्होला भ्रमण, संघको वेभसाईट डेभलप, सीसीटीभी जडान, दाताहरुको अपडेट र विधान संशोधनलगायत महत्वपूर्ण शीर्षकहरुमा छलफल गरी निर्णय गरेको पनि तमु प्ये ल्हु संघ यूकेले जनाएको छ ।






तमु प्ये ल्हु संघ यूकेले सर्प वर्गको बिदाइ र घोडा वर्गको स्वागत गर्दै परम्परागत रूपमा पूजाआजा गरी ३० डिसेम्बरमा भव्य समारोह गरेर त ल्होसार महोत्सव आयोजना गरेको थियो । बेलायतका लागि नेपाली एम्बेसीका कार्यवाहक राजदूत विपिन दुवाडीको प्रमुख आतिथ्य रहेको महोत्सवमा बेलायतमा क्रियाशील विभिन्न संघसंस्थाका अध्यक्ष तथा प्रतिनिधिहरूको आतिथ्य रहेको थियो ।
धार्मिक पूजा, औपचारिक र सांस्कृतिक गरी तीन चरणमा सञ्चालन गरिएको कार्यक्रमको औपचारिक कार्यक्रम दिउँसो चार बजेदेखि सुरु गरिएको थियो । सांस्कृतिक कार्यक्रम साँझ ६ बजे सुरु गरिएको थियो । संघको अध्यक्ष क्या. डेम बहादुर योज तमुको सभापतित्वमा सचिव भेग च्हाक्ली तमु, युवा एम्बेस्डर सिर्जना च्हम्रु तमु र युवा सल्लाहकार दुर्गा योज तमुले औपचारिक कार्यक्रम सञ्चालन गरेका थिए ।
उक्त अवसरमा विभिन्न विश्व विद्यालयबाट उच्च शिक्षामा विद्यावारिधि हासिल गरेका छात्रछात्रालाई सम्मान गरिएको थियो । त्यसैगरी विभिन्न संघसंस्थाको नयाँ नेतृत्वमा निर्वाचित अध्यक्ष तथा बेलायती सेनामा कार्यरत विशिष्ट तहमा पदोन्नति प्राप्त गरेका गोर्खा अफिसरलाई पनि सम्मान गरी बधाई दिइएको थियो । सांस्कृतिक कार्यक्रममा स्थानीय कलाकारको बेजोड प्रस्तुति थियो । नेपालदेखि आएका चर्चित गायक चिज गुरुङ, निर्जला गुरुङ र बालकाशी गुरुङको विशेष प्रस्तुतिले सांस्कृतिक कार्यक्रममा रौनकता थपेको थियो ।
करिब १५ सयको हाराहारीमा जनमानसको उपस्थिति रहेको त–ल्होसार महोत्सव समग्रमा पाहुना सत्कार, खानपिन, शुभकामना आदानप्रदान एवं रमाइलो भेटघाट सबै पक्षमा रंग भरिएको थियो ।