लन्डन । बेलायतस्थित पोखरेली समुदायको साझा संस्था ‘पोखरेली मञ्च यूके’को अध्यक्षमा गंगाबहादुर गुरुङ (पवित्र) चयन भएका छन् । शनिबार माइतीघरमा सम्पन्न चौथो वार्षिक साधारणसभाले गंगाबहादुरको अध्यक्षतामा निर्विरोध नयाँ समिति चयन गरेको हो ।
समितिको उपाध्यक्षमा शेरबहादुर गुरुङ (शेरा), कोषाध्यक्षमा प्रकाश गुरुङ र सहकोषाध्यक्षमा विनय पुन चयन भएका छन् । कार्यसमिति सदस्यहरूमा मीना गुरुङ, गिरी गुरुङ र ललित गुरुङ रहेका छन् ।
महासचिव र सचिव पदमा भने पछि नियुक्त गरिने जानकारी दिइएको छ । कार्यक्रम दुई चरणमा आयोजना गरिएको थियो । पहिलो चरणमा उद्घाटन सत्र भएको थियो भने दोस्रो चरणमा नयाँ कार्य समितिको निर्वाचन तथा चयन प्रक्रिया भएको थियो ।

कार्यक्रमको सञ्चालन सहसचिव टीकाराम गुरुङले गरेका थिए । संस्थाका संस्थापक अध्यक्ष क्याप्टेन (रि.) चन्द्रबहादुर पुनले स्वागत मन्तव्य राखेका थिए । संस्थापक अध्यक्ष पुन, पूर्वअध्यक्ष मानप्रसाद गुरुङ तथा निवर्तमान अध्यक्ष करम गुरुङले दीप प्रज्वलन गरेका थिए ।
सभामा अध्यक्ष गुरुङले आफ्नो कार्यकालको प्रगति विवरण प्रस्तुत गर्दै संस्थागत गतिविधि र उपलब्धिको जानकारी गराएका थिए । त्यसपछि पुरानो समिति भंग गरी नयाँ कार्यसमिति चयन प्रक्रिया अघि बढाइएको थियो ।
निर्वाचन समितिमा प्रेम गुरुङ, विक्रम भट्टराई र राम गुरुङ रहेका थिए । नवनिर्वाचित पदाधिकारीहरूले औपचारिक रूपमा शपथ ग्रहणसमेत गरेका थिए ।

एनआरएनए यूकेका पूर्वअध्यक्ष एवं संस्थाका सल्लाहकार सूर्य गुरुङ, तमु धीं यूकेका अध्यक्ष जुमकाजी गुरुङ तथा निवर्तमान अध्यक्ष करम गुरुङले नयाँ कार्य समितिलाई शुभकामना व्यक्त गरेका थिए ।
नवनिर्वाचित अध्यक्षले संस्थालाई अझ सक्रिय बनाउँदै नयाँ सदस्य थप्ने प्रतिबद्धता जनाए । उनले सबै सदस्य तथा समुदायबाट निरन्तर सहयोग र साथको अपेक्षासमेत व्यक्त गरेका छन् ।