लन्डन । बेलायतमा तामाङ समुदायले शनिबार १७ जनवरीमा सोनाम ल्होछार मनाउँदै छन् ।
नेपालबाट आएका चर्चित कलाकार अविनाश घिसिङलगायतको सांगीतिक प्रस्तुतिसहित ल्होछार मनाउने तयारी भइरहेको नेपाल तामाङ घेदुङ यूकेले जनाएको छ । कार्यक्रम ह्यारोस्थित ह्यारो लिजर सेन्टर क्रिस्ट चर्चमा मध्याह्न १२ बजेदेखि हुने छ ।
ता ल्हो २८६२ औं सोनाम ल्होछारको अवसरमा विभिन्न सांस्कृतिक प्रस्तुतिसहित समारोह आयोजना गरिने आयोजक तामाङ घेदुङ यूके केन्द्रीय समितिका अध्यक्ष हरिसिंह वाइबाले जानकारी दिए । उनले कार्यक्रमको आकर्षणमा लाइभ म्युजिक, मौलिक तथा विभिन्न खाना, नृत्य र डिजे रहनेछन् ।
प्रथम पुरस्कार १ तोला सुनसहितको भाग्योदय चिट्ठा (राफल ड्र)समेत खेलाइने छ । कार्यक्रम सहभागी हुन अनलाइनमार्फत अग्रिम टिकट लिएमा वयस्क ३५ पाउन्ड, ज्येष्ठ नागरिक र अन्तर्राष्ट्रिय विद्यार्थीका लागि प्रतिव्यक्ति ३० पाउन्ड रहेको छ । ६-१२ उमेर समूहका बालबालिकालाई भने २० पाउन्डमात्रै लाग्ने जनाइएको छ । कार्यक्रमको गेटबाट भने हरेकमा थप ५ पाउन्ड चार्ज लिइने छ । ६ भन्दा तलका बालबच्चालाई भने नि:शुल्कको व्यवस्था रहेको आयोजकले जनाएको छ ।
केन्द्रीय अध्यक्ष हरिसिं वाइबाले भने, 'बेलायतमा रहेका तामाङ समुदायबीचको ऐतिहासिक एकतापछि केन्द्रीय रूपमा सोनाम ल्होछार मनाउन पाउनु गर्वको विषय हो । यो कार्यक्रम केवल पर्व उत्सव मात्र होइन, हाम्रो सामूहिक पहिचान र एकताको प्रतीक पनि हो ।'
आयोजकले बेलायतमा रहेका सम्पूर्ण तामाङ समुदाय तथा नेपालीहरूलाई कार्यक्रममा सहभागी भई सोनाम ल्होछारलाई भव्य बनाउन आग्रह गरेको छ ।