लन्डन । थारु कल्याणकारी सभा यूकेको आयोजनामा माघी पर्व तथा नयाँ वर्ष २६४९ भव्य रुपमा मनाइएको छ ।
होटल हिल्टन गार्डेन इनमा बुधबार आयोजित समारोहलाई सम्बोधन गर्दै बेलायतका लागि नेपालका कार्यवाहक राजदूत विपिन दुवाडीले प्रवासमा बसेर पनि आफ्नो भाषा, संस्कृति र पहिचानको प्रबर्द्धन गर्न जुटेकोमा थारु कल्याणकारी सभा यूकेसंग आबद्ध युवाहरुलाई हार्दिक बधाई र धन्यवाद दिए । उनले छ वर्ष पहिले बर्दियामा थारु होम स्टेमा बसेको स्मरण गर्दै थारु समुदायको आतिथ्य, अनुशासन र सहयोगी प्रवृत्ति अनुकरणीय रहेको बताए । उनले बेलायतस्थित थारु लगायत सबै समुदायलाई सक्दो सहयोग गर्न दूतावास सधैं तयार रहेको जनाए ।
कार्यक्रममा एनआरएनए यूकेका अध्यक्ष राजेन्द्र पुडासैनी, तमु धीं यूकेका अध्यक्ष जुमकाजी गुरुङ, तमु प्ये ल्हु संघ यूकेका अध्यक्ष क्या डेमबहादुर गुरुङ, किरात राई यायोख्या यूके तथा युरोपका विभिन्न संस्थाका प्रतिनिधिहरुले शुभकामना दिएका थिए । कार्यक्रममा ज्योति, जीना, रत्न, माया, सुष्म, सन्ध्यलगायतका कलाकारले थारु नृत्य प्रदर्शन गरेका थिए भने राकेश चौधरीले गीत सुनाए ।
कार्यक्रममा अतिथिहरुलाई टोकन अफ लभ प्रदान गरिनुका साथै अनदी, ढीक्री, हाँसको मासु, तारेको माछालगायत थारु परिकारले स्वागत गरिएको थियो ।
थारु कल्याणकारी सभा यूकेका अध्यक्ष कवि कुसुम्याले बेलायतमा बसोबास गरिरहेका थारु समुदायका युवाहरुलाई एकजुट गरी थारु भाषा, संस्कृति र पहिचानको प्रवर्द्धन गर्न कार्यक्रम आयोजन गरिएको जनाए । उनले माघी पर्वको शुभकामना दिँदै सबै सहभागी तथा प्रायोजकहरुलाई धन्यवाद दिए ।
कार्यक्रमको संचालन ओम थारु तथा ज्योति चौधरीले गरेका थिए ।