लन्डन । मगर संघ यूके युनाइटेड ह्याम्पसायर, सर्रे, बर्कशेयर ब्रान्च (यूएचएसबी) ले विभिन्न कार्यक्रमसहित माघे संक्रान्ति मनाएको छ ।
शाखाका अध्यक्ष बिरबहादुर बलालको अध्यक्षतामा १० जनवरी २०२६ शनिबार फार्नबोरोस्थित सामुअल कोडी स्पोर्ट्स कलेज (ओक्फार्म स्कुल)मा मगरहरुको परम्पराअनुसार विधिवत रुपमा पितृ पूजा, सांस्कृतिक कार्यक्रमसहित संक्रान्ति मनाइएको हो ।
पहिलो चरणमा ओम थापा काउचाको नेतृत्वमा परम्परागत पितृ पूजा सम्पन्न भएको थियो । शाखाका सबै सदस्यहरुले दिदीबहिनीहरुबाट बनेका परिकार – तरुल, खिचडी, बारा (बटुक), सेलरोटी, अचार अनि फलफूल प्रसाद स्वरुप ग्रहण गरेका थिए ।
कार्यक्रममा प्रमुख अतिथिको रूपमा मगर संघ यूकेका अध्यक्ष लाल बहादुर पुन (लालु) र उनकी धर्मपत्निको उपस्थिति रहेको थियो । त्यसैगरी, विशेष अतिथिको रूपमा एनआरएनए यूकेका अध्यक्ष प्रेम गाहा मगर, उपाध्यक्ष तिर्थ बहादुर मल्ल (अनिल), ग्रेटर रश्मूर नेपाली कम्युनिटी यूकेका कार्यवाहक अध्यक्ष जित मेयाङ्बो, बिएफबिएस गोर्खा रेडियो यूकेका स्टेसन म्यानेजर योगराज राई रहेका थिए ।
अध्यक्ष बलालको अध्यक्षतामा सांस्कृतिक प्रस्तुति र मनोरञ्जन माघे संक्रान्तिलाई विशेष बनाउन नेपालबाट आएकी चर्चित गायिका तथा मोडल निरा थापा मगर र राष्ट्रिय लोक तथा दोहोरी प्रतिष्ठान नेपाल यूके शाखाका अध्यक्ष एवं लोकदोहोरी गायक मनसुधन थापा मगरले बेजोड सांगीतिक प्रस्तुति दिएका थिए । त्यस क्रममा प्रत्यक्ष कौडासमेत गाइएको थियो । कलाकारहरूको प्रस्तुतिमा उपस्थित दर्शकहरू कार्यक्रमको अन्त्यसम्म नै झुमेका थिए ।
त्यस्तै, स्थानीय मगर कलाकारहरूले मगर संस्कृतिमा आधारित सोरठी, कौराह र घाटु – सालैजो जस्ता विभिन्न विधाका आकर्षक नृत्य तथा गायन प्रस्तुतिले कार्यक्रम अत्यन्तै आकर्षक बनेको सहभागी बताए ।
कार्यक्रममा मगर संघ यूके यूएचएसबी शाखा आबद्ध पदाधिकारी तथा सदस्यहरुका नानीबाबुहरुले उच्च शिक्षा हासिल गरेकामा हौसलास्वरुप प्रमाणपत्र वितरण गरिएको थियो ।
महिला समितिद्वारा ‘राफल ड्र’ सन्चालन गरिएको थियो । राफल ड्रमा पहिलो पुरस्कार बिष्णु थापा (प्रायोजन – द प्यालेस)ले तिलहरी हात पारेकी थिइन् । दोस्रो पुरस्कार भक्तबहादुर थापाले (प्रायोजन –एडिएस) ले सुनको काँटा हात पारेका थिए भने अन्य पुरस्कार नवीन-नवीन ज्वलर्स र लक्की ड्र्यागन रेष्टुरेन्टले प्रायोजन गरेका थिए ।
औपचारिक कार्यक्रम सचिव धन थापाको सन्चालनमा संस्थाका उपाध्यक्ष गणेश बुढाथोकी मगरले स्वागत मन्तव्य राख्दै उपस्थित सम्पूर्णलाई स्वागत गरेका थिए ।
विदेशी भूमिमा पनि मगरहरुको मौलिक परम्परा संस्कार, संस्कृति, भाषा, भेषभुषा, नेपाली कला, गीतसङ्गीतलाई निरन्तरता दिन, प्रोत्साहन, प्रवर्द्धन गर्न र भावी पुस्तामा हस्तान्तरण गर्न हरेक वर्ष माघे संक्रान्ति मनाउँदै आएको अध्यक्ष बलालले बताए ।
माघे संक्रान्तिको उत्सवमा मगर संघ यूकेका पूर्वअध्यक्षहरू, ट्रष्टीहरू, सल्लाहकारहरू, विभिन्न शाखा समितिका अध्यक्षहरूका साथै विभिन्न संघ–संस्थाका प्रतिनिधिहरू र ठूलो संख्यामा स्थानीय मगर समुदाय साथै गैरमगरको उपस्थिति रहेको थियो ।





