लन्डन । तमु धीं लन्डन ब्रान्च यूकेको १८औँ वार्षिकोत्सव तथा तमु ल्होछार कार्यक्रम भव्य रूपमा मनाएको छ । १० जनवरी, शनिबारका दिन लन्डनको ग्रिनफोर्डस्थित टाउनहलमा बृहत् कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रमको प्रमुख अतिथि तमु धीं यूकेका अध्यक्ष जुमकाजी गुरुङ तथा आमा समूह अध्यक्ष कमलादेवी गुरुङ रहेका थिए ।
यस्तै, कार्यक्रममा विभिन्न संघसंस्थाका अध्यक्ष एवं पदाधिकारी र प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।
कार्यक्रमका प्रमुख अतिथि एवं तमु धीं यूके अध्यक्ष गुरुङले लन्डन ब्रान्चले केन्द्रले आयोजना गरेका ल्होछार, नेपाली मेला, गोर्खा कपलगायत हरेक कार्यक्रममा गरेको सहयोगप्रति आभार व्यक्त गरे ।
ब्रान्चका अध्यक्ष भरत गुरुङले कार्यक्रम सफल बनाउन सहयोग गर्ने सबैलाई धन्यवाद दिएका थिए । सो अवसरमा विभिन्न व्यक्तिहरू कम्युनिटी र पर्सनालिटी अवार्डबाट तथा नयाँ आजीवन सदस्यहरू प्रमाणपत्र र खादासहित सम्मानित भएका थिए ।

निवर्तमान अध्यक्ष विष्णु गुरुङ र तमु धीं यूके आमा समूहका अध्यक्ष कमलादेवी गुरुङलाई कम्युनिटी अवार्ड प्रदान गरियो । श्रीप्रसाद गुरुङ र श्रीमती मनदेवी गुरुङ पर्सनालिटी अवार्डबाट सम्मानित भए ।
यसैगरी, सोंपाल समाज यूकेका अध्यक्ष जगदीश गुरुङ र श्रीमती सीमा गुरुङ, इकाईका महासचिव विकास (रक) गुरुङ, प्रमुख संरक्षक खुसीमान गुरुङ र उनकी धर्मपत्नी मिना गुरुङलाई समेत विशेष सम्मान गरिएको थियो ।
कार्यक्रममा तमुहरूको रोदी बस्ने मौलिक परम्परा र कौडा नाचसमेत देखाइएको थियो । नेपालबाट आएका कलाकारहरू सलोमी गुरुङ, केशबहादुर गुरुङ, तिलक गुरुङ तथा दुर्गा गुरुङको प्रस्तुतिमा सबैजना झुमेका थिए । साथमा स्थानीय कलाकारको प्रस्तुति पनि बेजोड रहेको थियो ।