लन्डन । बेलायतको फार्नबोरोस्थित फार्नबोरो फुटबल क्लबमा आगामी २ मे, २०२६ का दिन स्प्रिङ फेस्टिभल हुने भएको छ ।
वर्षमा एकपटक नेपाली समुदायलाई एकै ठाउँमा भेला गराएर रमाइलो गर्ने उद्देश्यले कार्यक्रम हुन लागेको आयोजक नम्रता घले गुरुङले जानकारी दिइन् ।
गुरुङ यूकेमा यस्तो कार्यक्रम आयोजना गर्ने पहिलो महिलासमेत हुन् । कार्यक्रम दिउँसो १ बजेदेखि राति १० बजेसम्म सञ्चालन हुनेछ । मुख्य प्रायोजक लिटल एसिया रहेको छ ।
आयोजकका अनुसार निरन्तर रूपमा आयोजना हुँदै आएको हो। गत वर्ष पनि गुरुङले यस्तै प्रकारको कार्यक्रम आयोजना गरेकी थिइन् ।
कार्यक्रममा नेपालबाट आएका चर्चित ब्यान्ड अल्बाट्रस, गायक स्वप्न सुमन एन्ड द एस्टर्स तथा गायक–संगीतकार उजन शाक्यको विशेष प्रस्तुति रहनेछ । त्यसैगरी यूकेबाट भक्त ब्यान्ड, स्वर, ट्रेल अफ द निम्बसलगायत ब्यान्ड तथा कलाकारहरूले पनि आफ्नो प्रस्तुति दिनेछन्।

कार्यक्रममा डीजे प्रज्वलको दमदार डीजे सेसन पनि समावेश गरिएको छ । फेस्टिभलमा रोनिश्मा श्रेष्ठ नेपालबाट र मिस यूके नेपाल दुर्गा गुरुङ होस्ट रहनेछन् । साथै, सहभागी दर्शकहरूका लागि टिकट नम्बरका आधारमा राफल ड्र पनि गरिने आयोजकले जानकारी दिएका छन् ।
फेस्टिभलले यूकेमा बसोबास गर्ने नेपाली समुदायबीच आपसी सद्भाव, मनोरञ्जन र सांस्कृतिक पहिचानलाई अझ मजबुत बनाउने अपेक्षा गरिएको छ । फेस्टिभलमा सहभागी बन्न आयोजकले उपलब्ध गराएको क्यूआर कोडमार्फत अनलाइन टिकटिङको व्यवस्था गरिएको छ ।