लन्डन । पूर्वगोर्खा सैनिक हरि बुढा मगरले अन्टार्कटिकाको सर्वोच्च शिखर माउन्ट भिन्सन सफलतापूर्वक आरोहण गर्दै कीर्तिमान बनाएका छन् ।
उनको टोली ६ जनवरी २०२६ को राति १० बजे माउन्ट भिन्सनको शिखरमा पाइला टेक्न सफल भएको हो । हरि क्रिसमसको पूर्वसन्ध्यामा बेलायतबाट पृथ्वीको सबैभन्दा दुर्गम र कठोर स्थानमध्ये एक अन्टार्कटिकातर्फ लागेका थिए ।
यससँगै विश्वका सातै महादेशका सबैभन्दा अग्ला हिमाल आरोहण गर्ने ‘कन्करिङ ड्रिम्स – सेभेन समिट्स’ अभियान सफलतापूर्वक सम्पन्न गरेका छन् । उनले यो यात्रा सन् २०२३ मा सगरमाथा आरोहण गरेर सुरु गरेका थिए ।
त्यसपछि विभिन्न महादेशका सर्वोच्च हिमाल आरोहण गर्दै उनले शारीरिक अपांगता असम्भवका लागि बाधा होइन भन्ने सन्देश विश्वलाई दिन सफल भएका हुन् ।

हरिले आरोहण गरेका सात अग्ला शिखरमा सगरमाथासहित, आकोंकागुवा, डेनाली, माउन्ट किलिमाञ्जारो, माउन्ट एल्ब्रुस, पुनचक जया र माउन्ट भिन्सन रहेका छन्। यी साथ महादेशका सर्वोच्च शिखर हुन् ।
यससँगै हरिले आफ्नो जीवन अपांगता सचेतना फैलाउने अभियानमा समर्पित गर्दै कठिन अभियान, सार्वजनिक भाषण, परोपकारी गतिविधि र अन्तर्राष्ट्रिय पैरवीमार्फत विश्वभरका अपांगता भएका व्यक्तिलाई आफ्ना सीमा तोड्न र सपना पछ्याउन प्रेरित गरिरहेका छन् ।