लन्डन। गुल्मी जिल्ला समाज यूकेले शिक्षा क्षेत्र, अशक्त, असहायलाई गुल्मी समाज यूकेबाट ५ लाख सहयोग हस्तान्तरण गरेको छ ।
सत्यवती बहुमुखी क्याम्पसलाई एक लाख रुपैयाँ, आशा अपांग केन्द्रलाई एक लाख रुपैयाँ, रेडियो पुष्पाञ्जलीमा कौरव खत्रीलाई ५० हजार रुपैयाँ, रुरुक्षेत्र अटिजम पाठशालालाई ५० हजार रुपैयाँ, सत्यवती गाउँपालिका-४ का अशक्त ईश्वर शर्मालाई ५० हजार रुपैयाँ, अनुज ज्ञवालीलाई ५० हजार रुपैयाँ, इस्मा गाउँपालिका-३ की बिना नेपालीलाई ५० हजार रुपैयाँ र गुल्मीदरबार-५ का नेत्रबहादुर रानालाई ५० हजार रुपैयाँ सहयोग गरिएको हो ।

सहयोग रकम अपांगता दिवसको अवसरमा बेलायत (यूके)मै संकलन भएको थियो । एकमुष्ट पाँच लाख रुपैयाँ सहयोग गरिएको गुल्मी जिल्ला समाज यूकेले जनाएको छ ।
आशा अपांग केन्द्र गुल्मीका अध्यक्ष जनार्दन घिमिरेले गुल्मी जिल्ला समाज यूकेले विगतदेखि नै सहयोग गर्दै आइरहेको बताए ।'पीडा भएको घाउमा मल्हम लगाउने काम गरेको छ', उनले भने, 'आशा अपांग केन्द्रमार्फत सहयोग सधैं भइरहेको छ ।'
गुल्मी जिल्ला समाज यूकेका अध्यक्ष रुद्र थापाले अशक्तलाई केही राहतका लागि पाँच लाख रुपैयाँ सहयोग गरेको बताए। 'थोरै भए पनि अशक्तलाई व्यक्तिगत र संस्थागत सहयोग गरेका छौं', उनले भने, 'अबका दिनमा नगद मात्रै नभएर सीप पनि सिकाउने योजना छ ।' उनले आगामी दिनमा अक्षयकोष स्थापना गर्ने सोच राखेको बताए।
रेसुंगा नगरपालिकाका प्रमुख खिलध्वज पन्थीले विदेशमा रहेर जन्मभूमिका अशक्त तथा असहायलाई सहयोग गर्नु सराहनीय भएको बताए ।
