लन्डन । कोल्मा बाहकोट समाज यूकेको ‘वार्षिक १७औँ ल्होछार तथा पुस १५ कार्यक्रम’ भव्य रूपमा सम्पन्न भएको छ । शनिबार, ३ जनवरीमा अल्डरसटस्थित एम्पायर हलमा कार्यक्रम भएको थियो ।
कार्यक्रमको प्रमुख अतिथि एनआरएनए यूकेका अध्यक्ष प्रेम गाहा मगर र तमु धीं यूकेका अध्यक्ष जुमकाजी गुरुङ रहेका थिए । यस्तै, संस्थाका पूर्वअध्यक्ष, सल्लाहकार तथा संस्थाका सदस्यसहित २५० जनाभन्दा बढीको उपस्थिति रहेको थियो ।

कार्यक्रम संस्थाका महासचिव मदन रानाले सुरुवात गरे। वरिष्ठ उपाध्यक्ष मुकेश थापाले स्वागत मन्तव्य राख्दै सबैजनालाई स्वागत गरेका थिए ।
एनआरएनए अध्यक्ष प्रेम गाहा मगर, तमु धीं यूकेका अध्यक्ष जुमकाजी गुरुङ, वरिष्ठ उपाध्यक्ष मुकेश थापा र आमा उपाध्यक्ष ईश्वरीमाया गुरुङले संयुक्त रूपमा पानसमा बत्ती बालेर कार्यक्रमको उद्घाटन गरे । स्थानीय कलाकारले स्वागत नृत्य राखेका थिए ।

चन्द्र बहादुर गुरुङले उपस्थित सबैलाई धन्यवाद दिँदै आफ्नो मन्तव्य राखेका थिए । नेपालबाट आएका कलाकार मौसम गुरुङ र सुनिला गुरुङको प्रस्तुतिले अझै रौनक थपिएको थियो । साथमा संस्थाको परिवारभित्रका कलकारहरूले पनि आफ्नो नृत्य देखाएका थिए ।
गोर्खा मिडियाका प्रबन्ध निर्देशक मिलन तमु, फोटोमा तेज गुरुङ, भिडियोमा एसके गुरुङ रहेका थिए । अन्त्यमा सबै जना नाचेर रमाइलो गरेका थिए ।

कोल्मा बाहकोट समाज यूके नेपालको स्याङ्जा जिल्लाका सात गाउँहरू कोल्मा, बाहकोट, हटिया सालडाँडा, टक्सार, राङभाङ, ओरस्टे र ठूलाडी घर भई यूकेमा बसोबास गरिरहेका नेपालीहरूको संस्था हो । यी गाउँमा विभिन्न जातजातिहरूको बसोबास रहेको छ ।
