मस्को । आकासा कोचिङ एलाइन्स (ACA) का संस्थापक अध्यक्ष ज्याक माकानीले आफ्नो अध्यक्षीय जिम्मेवारी मास्टर ट्रेनर तथा इनिसिएटर ईन्द्र बहादुर गुरुङलाई औपचारिक रूपमा हस्तान्तरण गरेका छन् ।
अङ्ग्रेजी नयाँ वर्ष २०२६ को अवसरमा जनवरी १ तारिखका दिन उक्त जिम्मेवारी हस्तान्तरण गरिएको हो । ज्याक माकानीका सहपाठी स्वेतलाना चार्कोव्स्कायाले जुममार्फत मस्कोबाट कार्यक्रम सञ्चालन गरेकी थिइन् । जसमा विश्वभर रहेका आकासा हिलर, ट्रेनर तथा इनिसिएटरहरूको सहभागिता थियो । कार्यक्रममा विश्वका विभिन्न देशबाट करिब ६० जनाको उपस्थिति थियो ।
खुशी र उत्साहका साथ ज्याक माकानीले तत्काल लागू हुने गरी ईन्द्र गुरुङलाई ACA को नयाँ अध्यक्षको रूपमा नियुक्त गरिएको घोषणा गरेका थिए । उनले ईन्द्र गुरुङलाई उनको रचनात्मकता, वफादारी र गतिशील नेतृत्व क्षमताका लागि उच्च मूल्यांकन गरिएको उल्लेख गर्दै समुदायको विकास, स्थायित्व र प्रशासनिक जिम्मेवारीहरू आत्मविश्वासका साथ सम्हाल्न सक्ने व्यक्ति भएको बताए ।
यसै क्रममा ज्याक माकानीले आफू पूर्ण रूपमा बाहिरिएको नभई केवल प्रशासनिक भूमिकाबाट अलग भएको स्पष्ट पारे । ‘म कतै जाँदै छैन । म समुदायको आध्यात्मिक गुरु तथा मार्गदर्शकका रूपमा ACA सँग निरन्तर जोडिएर रहनेछु,’ नयाँ अध्यक्ष ईन्द्र गुरुङलाई बधाई व्यक्त गर्दै भने ।
करिब दुई घण्टा चलेको उक्त बैठकमा ज्याक माकानीले सहभागीलाई कस्मिक मेडिटेसनसमेत गराएका थियो ।
आकासा हिलिङ के हो?
आकासा हिलिङको मुख्य उद्देश्य अनुभवात्मक यात्रामार्फत ब्रह्माण्डीय शक्तिसँग प्रत्यक्ष जडान गराई व्यक्तिलाई आफ्नै आन्तरिक शक्ति र पूर्णताको पहिचान गराउनु हो । उच्च आत्मासँगको गहिरो सम्पर्क, आन्तरिक शान्ति, भावनात्मक शुद्धीकरण, नवीकृत ऊर्जा, आध्यात्मिक दिशाको स्पष्टता तथा दैनिक जीवनमा लक्ष्यप्रति केन्द्रित हुन सिकाउनु आकासा रिट्रीटका प्रमुख विशेषता हुन् ।
आकासा तालिमका क्रममा विद्यार्थीलाई सिम्बलमार्फत दीक्षा प्रदान गरिन्छ । दीक्षा भनेको गुरुबाट विद्यार्थीमा विशेष प्रकारका ऊर्जा सेटिङ प्रत्यक्ष रूपमा प्रसारण गर्ने एक ऊर्जावान प्रक्रिया हो, जसलाई विद्यार्थीले पछि आफै प्रयोग गर्न सक्छन् ।
आकासा प्रणालीमा दीक्षाको परिणामस्वरूप विभिन्न ऊर्जासँग सम्बन्धित प्रतीकमा पहुँच प्राप्त हुन्छ । ती प्रत्येक प्रतीकको आफ्नै कार्य र उद्देश्य हुन्छ । दीक्षाको पहिलो स्तरमा ११ वटा सिम्बल प्राप्त गरिन्छ भने प्रत्येक नयाँ स्तरसँगै प्रतीकको संख्या र तिनको शक्ति पनि क्रमशः वृद्धि हुँदै जान्छ । आकाशामा जम्मा ३१ वटा सिम्बल छन् ।
यी सम्पूर्ण प्रक्रियाहरू प्राकृतिक र पारिस्थितिक रूपमा सम्पन्न हुन्छन् । प्रतीकहरू बिस्तारै मानव ऊर्जा प्रणालीमा एकीकृत भई समस्या समाधान, शरीर,मन,आत्माको सन्तुलन, ऊर्जा प्रवाह र समग्र स्वास्थ्यमा सहयोग पुर्याउँछन् । आकासा एक व्यवहारमा आधारित प्रविधि हो, जसमा न्यूनतम सिद्धान्त बाहेक अतिरिक्त दर्शन वा विश्वास प्रणालीको आवश्यकता पर्दैन । यही कारणले यो प्रणाली विश्वभर निरन्तर विस्तार भइरहेको छ ।
ज्याक माकानी को हुन्?
ज्याक माकानी माकानी प्रालिका संस्थापक तथा आकासा कोचिङ एलाइन्स (ACA) का अध्यक्ष हुन् । उनको जन्म सन् १९४३ मा डेनमार्कको कोपेनहेगनमा भएको थियो । युवावस्थामै उनी डेनिस सेनामा भर्ती भई मेजर पदसम्म पुगे र सन् १९९१ को जनवरीमा सेनाबाट अवकाश लिए ।
उनले डेनमार्कको डिफेन्स एकेडेमीबाट मनोविज्ञान विषयमा विशेषज्ञता हासिल गरेको थियो । ४६ वर्षको उमेरमा भएको वैवाहिक विच्छेदपछि उनी व्यक्तिगत तथा आध्यात्मिक विकासको मार्गतर्फ आकर्षित भए । यही क्रममा उनले NLP (न्यूरो–लिङ्ग्विस्टिक प्रोग्रामिङ) अध्ययनबाट आफ्नो नयाँ यात्रा सुरु गरे ।
NLP, सम्मोहन र मनोचिकित्साका क्षेत्रमा उनका प्रमुख गुरुहरूमा ओले वाडुम डाहल (डेनमार्क), ट्याड जेम्स, जोन ओभरडर्फ र जुलिया सिल्भरथर्न (संयुक्त राज्य अमेरिका) रहेका छन् । सन् १९९८ मा उनी अन्तर्राष्ट्रिय रूपमा NLP मास्टर ट्रेनरको रूपमा प्रमाणित भए ।
सन् १९९३ मा ज्याक माकानीले हवाईको हुनामा आधारित पोलिनेसियन शमन परम्पराको अध्ययन सुरु गरे भने सोही अवधिमा रेकी उपचार प्रणालीमा पनि दीक्षा लिए । सन् १९९७ मा एक घातक रोगबाट आत्मा निको हुने अनुभवपछि उनले आफ्नो नाम परिवर्तन गरी ‘ज्याक माकानी’ राखे । हवाईयन भाषामा ‘माकानी’को अर्थ परिवर्तन ल्याउने हावा हो ।
गहिरो आध्यात्मिक रूपान्तरणपछि उनले आरोहण गुरुहरूसँगको सम्पर्क अनुभव गरे र उनीहरूको मार्गदर्शनमा कार्य गर्न थाले । आध्यात्मिक यात्राका क्रममा उनले हवाई, इजिप्ट, न्यूजील्याण्ड, इस्टर टापु, एन्डीज पर्वतशृंखला, माउन्ट शास्ता, जोटुनहेमेन, आइसल्याण्डका ज्वालामुखी, माउन्ट ओलम्पोस तथा साइप्रसको ट्रुडोसजस्ता पवित्र स्थलहरूको भ्रमण गरेका छन् ।
सन् २००१ मा ज्याक माकानी र उनकी बहिनी एनी मेरी ब्रेमर (मास्टर हिलर) ले आफ्ना आध्यात्मिक गुरुहरूबाट आकासा हिलिङ तथा आध्यात्मिक विकास प्रणाली प्राप्त गरे । त्यसपछि ज्याकले आकासा सशक्तिकरण र हिलिङ प्रणालीको विकास गरे र विश्वभर यस प्रणालीलाई फैलाउने अभियानमा आफूलाई समर्पित गरे ।
सन् २०१० मा आकासा प्रणालीलाई ग्रहमा भइरहेका ऊर्जा परिवर्तनअनुसार विधिवत गर्न निर्देशन प्राप्त भयो । त्यसयता प्रणाली तीव्र रूपमा विस्तार हुँदै आएको छ । सन् २०१६ मा लिथुआनियाको पलांगा शहरमा आयोजित १५औं वार्षिकोत्सवमा ८५ जनाको सहभागिता रहेको थियो । हाल पनि यो नेटवर्क विश्वव्यापी रूपमा विस्तार भइरहेको छ । ज्याक माकानी नयाँ साझेदारहरूको खोजीमा सक्रिय छन् ।