लन्डन । विगतका वर्षहरुमा झैं तमु समाज युकेले आज शनिबार (३ जनवरी २०२६) मा विविध कार्यक्रमसहित ल्होछार/ल्होसार मनाउँदै छ ।
ह्यारो लेजर सेन्टरको बायरन हलमा त ल्हो (घोडा वर्ग) को अवसरमा शुभकामना आदानप्रदान तथा बृहत् सांस्कृतिक कार्यक्रम आयोजना गर्न लागिएको तमु समाज युकेकी अध्यक्ष विन्दु कुमारी घले गुरुङले जानकारी दिएकी छन् । उनका अनुसार कार्यक्रम साँझ ४:३० बजेदेखि राति साढे १२ बजेसम्म हुनेछ ।
कार्यक्रममा नेपालबाट आएका गायक चिज गुरुङ, गायिका निर्जला गुरुङको दोहोरी भिडन्त हुनेछ ।
कार्यक्रमका विशेष आकर्षणहरू:
विशेष सांगीतिक प्रस्तुति: नेपालबाट विशेष रूपमा आमन्त्रित ख्यातिप्राप्त लोकदोहोरी कलाकारहरू चिज गुरुङ र निर्जला गुरुङको धमाकेदार सांगीतिक प्रस्तुति (तमु प्ये ल्हु संघ यूकेको समन्वयमा)।
सांस्कृतिक नृत्य: तमु समाज यूकेका प्रतिभाशाली कलाकारहरूद्वारा मनमोहक मौलिक सांस्कृतिक नृत्यहरू।
मौलिक पहिचान: गुरुङ समुदायको पारम्परिक भेषभूषा र सांस्कृतिक पोसाक पहिरिएका युवा युवतिहरुद्वारा त ल्हो (घोडा बर्ग) को स्वागत गरिने छ।
राफल ड्र: आकर्षक उपहार तथा पुरस्कारहरू जित्ने अवसर।
विशेष पुरस्कार घोषणा :
तमु भेषभूषा, भाषा, संस्कृति, संस्कार र परम्पराको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले यस कार्यक्रममा "उत्कृष्ट मौलिक तमु पोसाक"मा सहभागी हुने महानुभावहरूमध्येबाट:
१ जना पुरुष र १ जना महिलालाई छनोट गरी विशेष ट्रफीद्वारा सम्मान/पुरस्कृत गरिनेछ ।
कार्यक्रममा सपरिवार उपस्थितिका लागि बेलायतवासी सम्पूर्ण तमु तथा नेपाली दाजुभाइ, दिदीबहिनी तथा आमाबुवाहरूलाई तमु समाज युकेको तर्फबाट अध्यक्ष घलेले निमन्त्रणा गरेकी छन् ।
तमु वर्गचक्रअनुसार सर्प वर्गको बिदाइ र घोडा वर्गलाई स्वागत गर्दै यस वर्ष तमु (गुरुङ) समुदायले बेलायत, नेपाललगायत देशमा त ल्हो ल्होछार मनाइरहेका छन् । गुरुङ समुदायको हरेक वर्ष पुस १५ लाई नयाँ वर्ष अर्थात् ल्होछारको दिन हो । देश-विदेशमा समयानुकूल ल्होछारको मुख्य दिनको अघिपछि पनि कार्यक्रम हुँदै आएका छन् ।
यसअघि तमु ल्होछार/ल्होसारको अवसरमा तमु समाज यूकेले सर्प वर्गको बिदाई तथा घोडा वर्गको स्वागत गर्दै विशेष ग्रहशान्ति तथा शुद्धीकरण पूजा कार्यक्रम सम्पन्न गरेको थियो । कार्यक्रम २७ डिसेम्बर २०२५, शनिबारका दिन लन्डनको वेम्बलीस्थित बरहाम पार्कमा रहेको तमु समाज युके नेपाली कम्युनिटी सेन्टरमा भव्य रूपमा आयोजना गरिएको थियो ।
बिहान १० बजे शुभारम्भ भई दिउँसो ४ बजे समापन भएको कार्यक्रममा तमु समाज युकेका अध्यक्ष, संस्थापक अध्यक्ष, पूर्व अध्यक्षहरू, उपाध्यक्षहरू, कार्यसमितिका पदाधिकारीहरू, सल्लाहकारज्यूहरू, आजीवन सदस्यज्यूहरू लगायत समाजका ज्येष्ठ नागरिकदेखि युवा तथा बालबालिकासम्मको उल्लेख्य उपस्थिति रहेको थियो।