लन्डन । विभिन्न सांगीतिक धमाकासहित तमु प्ये ल्हु संघ युकेले आज (३० डिसेम्बर २०२५) मा ल्होसार (नयाँ वर्ष) मनाउँदैछ ।
चर्चित लोक तथा दोहोरी गायक चिज गुरुङ, गायिका निर्जला गुरुङ र कलाकार बालकाशी गुरुङलगायतको प्रस्तुतिसहित संघले ल्होसार मनाउन लागेको हो । कार्यक्रम ह्यारो लेजर सेन्टरस्थित क्रिष्टचर्चमा हुनेछ ।
आयोजक तमु प्ये ल्हु संघ यूकेका अनुसार कार्यक्रममा बिहान १० बजे धार्मिक पूजा हुनेछ । त्यसपछि ख्यातिप्राप्त कलाकाहरुबाट प्रस्तुतिसहित सांस्कृतिक कार्यक्रम, कक्टेल डान्स पनि हुने तमु प्ये ल्हु संघ युकेका प्राविधिक इन्द्रेश ङोप्छेले जानकारी दिए । कार्यक्रममा सहभागीले प्रवेश शुल्क २५ पाउन्ड तिर्नुपर्ने छ । तर ६ देखि १२ वर्ष उमेर समूहकाले १५ पाउन्ड मात्रै प्रवेश शुल्क तिरे पुग्नेछ ।
कार्यक्रममा युकेमा छरिएर बसेका समस्त दाजुभाइ तथा दिदीबहिनीहरु उपस्थिति भई कार्यक्रमलाई सफल पारिदिन अध्यक्ष क्या डेमबहादुर गुरुङले विनम्र अनुरोध गरेका छन् ।
यस वर्ष तमु समुदायले सप्ह्री ल्हो (सर्प वर्ग)को बिदाइ र त ल्हो (घोडा वर्ग)को स्वागत गरी ल्होसार मनाउँदैछन् । ‘ल्हो’को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको हो । तमु ल्होसार गुरुङ समुदायले नयाँ वर्षका रुपमा भव्यरुपमा मनाउने गर्छन् । आज नेपालसहित विभिन्न देशमा रहेका तमुहरु ल्होसार मनाइरहेका छन् ।
‘तमु ल्होसार’ पर्व सूर्यको किरणसँग सम्बन्धित छ । नेपालमा गुरुङ बाहुल्यता रहेको लमजुङ, गोरखा, तनहुँ, स्याङ्जा, मनाङ, कास्की, पर्वतलगायतमा सूर्यको ताप पहिले आउने भएकाले पुस १५ मा यो पर्व मनाउने गरिएको किम्वदन्ती छ । यसपछि क्रमशः तामाङ र शेर्पा जातिको बसोवास भएको क्षेत्रमा सूर्यको ताप आउने भएकाले माघ र फागुनमा यो पर्व मनाइने विश्वास गरिन्छ ।
पुस १५ गतेको रात सबैभन्दा लामो हुने र यसपछिका रात घट्दै जाने भएकाले पनि यस पर्वको महत्व रहेको बताइन्छ । तमु ल्होसारका अवसरमा नेपाल सरकारले सार्वजनिक बिदा दिएको छ ।