लन्डन । तमु धीं यूकेले तमु (गुरुङ) समुदायको नयाँ वर्ष ‘त ल्हो’ (ल्होछार) भव्य रूपमा मनाएको छ । अल्डरसटस्थित एम्पायर बैंक्वेटिङ एन्ड हलमा २७ डिसेम्बरका दिन विशेष समारोह आयोजना गरेर ल्होछार मनाएको हो ।
परम्परागत गुरुङ भेषभूषा चोलो, घलेक, फरिया, निलो पटुकी, हामेल, पीरु, झोक, मारै ट्हा तथा भाङ्ग्रा, बख्खु, सेतो कास र ढाका टोपीमा सजिएका तमु समुदायका सदस्यको उल्लेखनीय उपस्थितिले हल खचाखच भरिएको थियो ।

कार्यक्रम संयोजक तथा तमु धीं यूकेका वरिष्ठ उपाध्यक्ष परशु गुरुङका अनुसार कार्यक्रममा करिब ८५० जनाको सहभागिता रहेको थियो । कार्यक्रम भव्य र सफल रूपमा सम्पन्न भएकोप्रति उनले प्रसन्नता व्यक्त गरे ।
कार्यक्रमका प्रमुख अतिथि नेपाली दूतावास, लन्डनका कार्यवाहक राजदूत विपिन दुवाडीलाई औपचारिक स्वागत गरेपछि कार्यक्रम सुरु भएको थियो । क्या. देव घलेले उपस्थित सबैलाई स्वास्थ्य तथा सुरक्षासम्बन्धी जानकारी गराएका थिए ।
प्रमुख अतिथि दुवाडी, तमु धीं यूकेका अध्यक्ष जुमकाजी गुरुङ, आमा समूहकी अध्यक्ष कमलादेवी गुरुङ, संस्थापक अध्यक्ष मीनप्रसाद गुरुङ, तमु फोरमका निर्देशक क्या. राजु गुरुङ, तमु प्हेल्हु संघका अध्यक्ष क्या. डेमबहादुर गुरुङ, संयोजक परशु गुरुङ तथा नेपालबाट आमन्त्रित कलाकार सलोमी गुरुङ र केशबहादुर गुरुङले संयुक्त रूपमा दीप प्रज्वलन गरी कार्यक्रमको उद्घाटन गरेका थिए ।

त्यसपछि नेपाल, बेलायत र तमु समुदायका राष्ट्रिय गानले हल गुन्जिएको थियो । हेलिसा गुरुङ र विष्णु गुरुङले स्वागत नृत्य प्रस्तुत गरेका थिए । कार्यक्रममा तमु समुदायको मुखपत्र ‘फ्रेसी’ को लोकार्पण गरिएको थियो । प्रमुख सम्पादक एकेन्द्र गुरुङको पहलमा प्रकाशित उक्त पत्रिकाको उपस्थित अतिथिहरूले लोकार्पण गरेका थिए ।
समाजमा विशेष योगदान पुर्याउने तथा शिक्षाको क्षेत्रमा उत्कृष्ट उपलब्धि हासिल गरेका व्यक्तित्वहरूलाई सम्मान गरिएको थियो । सामुदायिक पुरस्कार प्राप्त गर्नेहरूमा अशोक गुरुङ, बिन्दु गुरुङ घले, मोहनजङ्ग गुरुङ, संगीता गुरुङ, कुमार गुरुङ, लिडिया गुरुङ, पद्म गुरुङ, प्रकाश गुरुङ र पंचा गुरुङ रहेका थिए ।

त्यस्तै, तमु प्रतिभा पुरस्कारबाट सिभाली गुरुङ र रेखमाया गुरुङ सम्मानित भए भने यस वर्षको ‘डा. हर्क अवार्ड’ जीसीएससीमा ११ वटै ए-स्टार प्राप्त गर्ने अबिरल गुरुङले हात पारे । उक्त अवार्डमा ५०० पाउन्ड नगद, ट्रफी र प्रशंसा पत्र प्रदान गरिने परम्परा रहेको छ ।
कार्यक्रममा ब्रिगेडियर जनरल अनुप शाह, लेफ्टिनेन्ट अबिराज शाह र लेफ्टिनेन्ट कर्णेल ललित गुरुङलाई सम्मान गरिएको थियो । साथै, नेपालबाट आएका तमु ह्युला छोँ धीं राष्ट्रिय परिषद्का उपाध्यक्ष मनोज गुरुङलाई विशेष स्वागत तथा सम्मान गरिएको थियो ।

पहिलो चरणको कार्यक्रम महासचिव डा. विशाल गुरुङ र सचिव विमल गुरुङले सञ्चालन गरेका थिए । सांस्कृतिक कार्यक्रममा नेपाल आइडल सिजन ६ की उपविजेता सलोमी गुरुङ र चर्चित युवा गायक केशबहादुर गुरुङले गुरुङ, नेपाली तथा कौडा गीतहरू प्रस्तुत गर्दै दर्शकहरूलाई झुमाएका थिए । उनीहरूलाई साथ दिँदै स्थानीय कलाकारहरूले पनि आकर्षक नृत्य प्रस्तुत गरेका थिए ।
प्रमुख अतिथि दुवाडीले तमु ल्होछारको शुभकामना व्यक्त गर्दै तमु धीं यूकेले राष्ट्रले गर्नुपर्ने कामसमेत गर्दै आएको उल्लेख गरे । गोर्खा कप, नेपाली मेला जस्ता सफल कार्यक्रममार्फत गुरुङ समुदायले नेपाल र नेपालीको प्रतिष्ठा अन्तर्राष्ट्रियस्तरमा उँचो बनाएको उनको भनाइ थियो ।

तमु धीं यूकेका अध्यक्ष जुमकाजी गुरुङले उपस्थित सम्पूर्ण अतिथि, कार्यसमिति सदस्य, पत्रकार, धर्मगुरु तथा दर्शकप्रति धन्यवाद व्यक्त गर्दै नयाँ ‘त ल्हो’ ले सबैको परिवारमा सुख, शान्ति र समृद्धि ल्याओस् भन्ने कामना गरे ।
संयोजक परशु गुरुङले स्वागत मन्तव्यमा कार्यक्रम सबैको सहयोगबाट सफल हुनेमा आफू विश्वस्त रहेको बताए । आमा समूहकी अध्यक्ष कमलादेवी गुरुङले कार्यक्रम सफल बनाउन आमा समूहको सक्रिय सहभागिताबारे उल्लेख गर्दै उपाध्यक्ष दिलमाया गुरुङसहित सम्पूर्ण टिमलाई धन्यवाद दिइन् ।

राफल ड्रअन्तर्गत पहिलो पुरस्कार दिप ज्वेलरी अल्डरसटका प्रेम विश्वकर्मा दम्पतीले सुनको तिलहरी, दोस्रो पुरस्कार पेपर वर्क सोलुसन लिमिटेडका श्याम श्रेष्ठले सुनको चन्द्रमा र तेस्रो पुरस्कार रिटायर्ड लेफ्टिनेन्ट कर्णेल तथा काउन्सिलर बिल विदर्सले प्रायोजन गरेका थिए । राफल ड्र आमा समूहले सञ्चालन गरेको थियो ।
तमु वर्गचक्रअनुसार सर्प वर्गको बिदाइ र घोडा वर्गको स्वागत गर्दै आयोजना गरिएको यस कार्यक्रममा दोस्रो चरणको सांस्कृतिक कार्यक्रम हेलिसा गुरुङ र अमुशा गुरुङले सञ्चालन गरेका थिए । रिसेप्सन व्यवस्थापनमा कोषाध्यक्ष अरुण गुरुङ, सह–कोषाध्यक्ष प्रेमराज गुरुङ तथा आमा समूहले सक्रिय भूमिका निभाएका थिए ।

तमु समुदायको मौलिक पर्व ल्होछार तथा नयाँ वर्षलाई स्वागत गर्दै आपसी शुभकामना आदानप्रदान, गीतसंगीत र नृत्यमार्फत रमाइलो गर्ने उद्देश्यले आयोजित यो कार्यक्रम अत्यन्त सफल र स्मरणीय बनेको आयोजकले जनाएका छन् ।
