अल्डरसट । यूकेको अल्डरसटमा नेपाली क्रिस्चियन (इसाई धर्मावलम्बी)हरूले धूमधामका साथ क्रिसमस डे मनाएका छन् । २५ डिसेम्बरका दिन विश्वका विभिन्न देशमा जस्तै यूकेको एम्पायर हलमा पनि भव्य समारोहबीच क्रिसमस मनाइएको हो ।
नेपाली क्रिस्चियन चर्च अल्डरसटले आयोजना गरेको क्रिसमस सेलिब्रेसन कार्यक्रममा क्रिस्चियन धर्मावलम्बीसहित विभिन्न व्यक्तित्वहरूको उपस्थिति थियो ।

तमु धीं यूकेका अध्यक्ष जुमकाजी गुरुङ, आमा समूहका अध्यक्ष कमलादेवी गुरुङ उपाध्यक्ष कमल गुरुङ, महासचिव डा. विशाल गुरुङ, पूर्वअध्यक्ष ग्याम गुरुङ र रामचन्द्र गुरुङ, सल्लाहकार दिलराज गुरुङ, सचिव विमल गुरुङ, आमा समूहका महासचिव शान्ता गुरुङ, सहारा यूकेका अध्यक्ष शारदा गुरुङ, कलाकार सलोमी र केशबहादुर गुरुङ, गोर्खा मिडियाका प्रमब्नध निर्देशक मिलन तमुलगायतको उपस्थिति रहेको थियो ।
सिनियर पास्टर क्या रि लक्ष्मी लिम्बूको निर्देशनमा असिस्टेन्ट पास्टर लिल गुरुङले कार्यक्रम अर्गनाइज गरेका थिए । ड्युल पुनले सञ्चालन गरेको कार्यक्रममा देवोरा आङदेम्बेले भजन गाउने टोलीलाई नेतृत्व गरेकी थिइन् । यस्तै, बाइबलबाट परमेश्वरको वाचन वाचन गरेकी थिइन्। ड्रामा पनि देखाएको थियो । 
भजन गाएर सुरु गरिएको कार्यक्रममा प्रार्थना गरेपछि स्वास्थ्य र सुरक्षाबारे जानकारी गराइएको थियो । त्यसपछि पनि भजन प्रस्तुत गरिएको थियो । भजन र वचनलाई सँगसँगै अघि बढाइएको थियो ।
त्यसपछि, अर्गनाइजर लिलले खानाको बारेमा जानकारी गराएका थिए । लक्ष्मीले सबैलाई धन्यवाद दिँदै अन्तिम प्रार्थना गरेसँगै कार्यक्रम समापन भएको थियो ।
इसाई धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा २५ डिसेम्बरका दिन सो धर्मावलम्बीहरूले ‘क्रिसमस डे’ मनाउने गरेका छन् । दुई हजार २५ वर्षअघि डिसेम्बर २५ तारिखका दिन येशु ख्रीष्टको जन्म इजरायलको वेथलेहेममा भएको थियो।

पवित्र आत्माबाट गर्भवती भई कुमारी मरियमबाट जन्मिएको भनिएका येशु ख्रीष्टले तीन मुख्य खुसीयाली दिएको जनाइएको छ । मुक्ति, प्रेम र शान्ति दिनुभएको विश्वासमा क्रिश्चियन समुदायले आजको दिनलाई तीनवटै दिवसका रूपमा मनाउने गरेका हुन् । मानिसलाई प्रेम गरेर आएकाले प्रेम दिवस, शान्ति स्थापना गर्न आएकाले शान्ति दिवस र मुक्ति दिन आएकाले विश्वभर मुक्ति दिवसका रूपमा उक्त दिनलाई मनाउने गरिएको छ ।
पवित्र आत्माबाट गर्भवती भई, कुमारी मरियमबाट जन्मिएको येशु ख्रीष्टले, संसारलाई पापबाट मुक्ति दिन, मानव अवतार लिई आएको सम्झनामा, खुसीयालीको साथ मनाइने दिन, क्रिसमसलाई बडादिनका रूपमा मनाइन्छ ।

