लन्डन । तमु समाज यूकेले तेस्रो राष्ट्रिय आदिवासी संगीत तथा चलचित्र अवार्डमा ऐतिहासिक सफलता हासिल गरेको छ ।
पुस १० गते काठमाडौँस्थित चलचित्र विकास बोर्डमा सम्पन्न अवार्ड समारोहमा ३५ विधामध्ये आदिवासी सर्वोत्कृष्ट गीत विधासहित विभिन्न पाँच विधामा समाजले प्रथम स्थान हासिल गरेको हो । भोटिङका आधारमा विजेता घोषणा गरिएको थियो ।
नेपालका आदिवासी जनजाति समुदायको कला, संस्कृति, भेषभूषा, गीत–संगीत तथा चलचित्रको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यका साथ अवार्ड आयोजना गरिएको हो ।

तमु समाज युकेले अवार्ड जित्न सफल विधा:
आदिवासी सर्वोत्कृष्ट गीत – तमु समाज युके
आदिवासी गीतकार विधा – श्री सूर्य गुरुङ (तमु समाज युके)
आदिवासी म्युजिक भिडियो निर्देशक विधा – श्रीमती तन्याङ सरु गुरुङ राना (तमु समाज युके)
मौलिक गीत गायन विधा – श्री आर. के. गुरुङ (तमु समाज युके)
मौलिक गुरुङ गीत गायिका विधा – अनिता गुरुङ (तमु समाज युके)
अवार्ड समारोहमा तमु समाज यूकेको तर्फबाट सल्लाहकार तथा पूर्व महासचिव ज्ञानबहादुर गुरुङ, वरिष्ठ पत्रकार लाला गुरुङ, मेजर डिलबहादुर गुरुङ MVO, गायक आरके गुरुङ तथा शिरज गुरुङ उपस्थित थिए ।
कार्यक्रमलाई भव्य, मर्यादित र सफल बनाउन नेतृत्व प्रदान गर्ने राष्ट्रिय आदिवासी संगीत तथा चलचित्र अवार्डका अध्यक्ष उमेश गुरुङ, क्वालिटी फिल्म्स नेपाल, आयोजक टिम, स्वयंसेवक तथा प्रत्यक्ष–अप्रत्यक्ष रूपमा सहयोग पुर्याउने सबैको योगदान प्रशंसनीय रहेको थियो ।
युकेबाट विभिन्न समयमा नेपालसँग समन्वय गर्दै व्यवस्थापनमा सहयोग पुर्याउनुका साथै युके र नेपाल दुवै स्थानमा भोटिङ अभियानलाई सशक्त रूपमा अघि बढाउन सक्रिय भूमिका निर्वाह गर्ने संस्थापक अध्यक्ष चित्रबहादुर गुरुङ, निवर्तमान अध्यक्ष शिवकुमार गुरुङ तथा अध्यक्ष बिन्दु कुमारी गुरुङ घले प्रति पनि धन्यवाद व्यक्त गरिएको छ।

त्यसैगरी, समाजका गीत तथा सबै विधामा भोट गरी विजय हासिल गर्न सहयोग पुर्याउनुहुने सम्पूर्ण शुभेच्छुक, समर्थक तथा आदरणीय महानुभावहरूप्रति तमु समाज युकेले हार्दिक आभारसहित कृतज्ञता व्यक्त गरेको छ।
तमु समाज यूके आदिवासी जनजातिको भाषा, कला, संस्कृति, गीत–संगीत तथा चलचित्रको संरक्षण, प्रवर्द्धन र पहिचानका लागि निरन्तर क्रियाशील रहँदै आएको छ । संस्थाको यो उपलब्धि सम्पूर्ण तमु/गुरुङ समुदायका लागि गर्वको विषय बनेको छ ।
यस सफलताले संस्थाको एकता, नेतृत्व क्षमता, सृजनशीलता र समर्पणलाई उजागर गर्नुका साथै भावी पुस्तालाई समेत सकारात्मक प्रेरणा दिएको विश्वास लिइएको छ।
कार्यक्रमको प्रमुख अतिथि चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसी, विशेष अतिथि कविता आले, धिरेन शाक्य, राजेन्द्र खड्की रहेका थिए । कार्यक्रममा पत्रकार अनिल गुरुङ, अग्रज गायक तथा संगीतकार कृष्ण गुरुङलाई सम्मान गरिएको थियो ।