लन्डन । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) यूकेले ३५औँ स्थापना दिवस, स्रष्टा स्मृति दिवस तथा नयाँ वर्ष २०२६ को शुभकामना आदानप्रदान कार्यक्रम संयुक्त रूपमा आयोजना गर्ने भएको छ ।
अनेसास यूकेले हरेक वर्षजस्तै यस वर्ष पनि नेपाली साहित्यका महान् स्रष्टाहरूको जन्मजयन्ती तथा योगदानलाई स्मरण गर्दै आगामी १७ जनवरी २०२६ मा स्रष्टा स्मृति दिवस मनाउन लागेको अध्यक्ष राज श्रेष्ठले जानकारी दिए । उनका अनुसार अक्टोबरदेखि फेब्रुअरी महिनासम्म जन्मिएका नेपाली साहित्य–संगीतका मुर्धन्य व्यक्तित्वहरू—कविशिरोमणी लेखनाथ पौड्याल, मास्टर मित्रसेन थापा, स्वरसम्राट नारायण गोपाल, संगीतकार तथा गायक गोपाल योन्जन, अम्बर गुरूङ, तथा साहित्यकार/चित्रकार लैनसिंह बाङ्देल—प्रति सम्मान प्रकट गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिँदैछ ।
कार्यक्रम बेलायतको केन्टस्थित नर्थफोल्क प्लेस, वेलिंगमा दिउँसो १२:३० देखि १४:३० बजेसम्म भौतिक रूपमा सम्पन्न हुनेछ । अनेसासको ३५औँ स्थापना दिवसलाई समेत समेटेर कार्यक्रमलाई अझ भव्य रूपमा मनाउने तयारी रहेको अध्यक्ष श्रेष्ठले बताए ।
कार्यक्रममा अनेसास यूकेका सदस्यहरूका साथै बेलायतमा क्रियाशील अन्य साहित्यिक संस्थाका साहित्यकार तथा स्रष्टाहरूको पनि उपस्थिति रहनेछ । अनेसास यूकेका अध्यक्ष राज श्रेष्ठको अध्यक्षतामा सञ्चालन हुने कार्यक्रमको संयोजन उपाध्यक्ष माया गुरुङले गर्नेछिन् ।
अनेसास यूकेले नेपाली साहित्य, कला र संस्कृतिप्रति समर्पित स्रष्टाहरूको योगदानलाई निरन्तर स्मरण गर्दै साहित्यिक समुदायलाई एकताबद्ध बनाउने उद्देश्यले यस्ता कार्यक्रमहरूलाई निरन्तरता दिँदै आएको बताएको छ ।