अल्डरसट । नेपालको कास्की जिल्ला मादी गाउँपालिका वडा नं २ ताङतिङ गाउँ पुर्ख्यौली घर भई यूकेमा बसोबास गरिरहेकाहरूको साझा संस्था ताङतिङ समाज यूकेको अध्यक्षमा तर्कजङ गुरुङ पुनः निर्वाचित भएका छन् ।
२० डिसेम्बर २०२५, शनिबार अल्डरसटस्थित सुशीमोटो रेस्टुरेन्टमा सम्पन्न दशौँ महाधिवेशनबाट तर्कजङको अध्यक्षतामा ३१ सदस्यीय कार्यसमिति चयन भएको हो । समितिको कार्यकाल तीन वर्षको रहनेछ ।
समाजका भूपू अध्यक्ष तथा बिजीनेसाका अध्यक्ष केशबहादुर गुरुङ प्रमुख निर्वाचन आयुक्त रहेको पाँच सदस्यीय निर्वाचन समिति रहेको थियो । महाधिवेशन अगावै सम्पन्न १९औँ वार्षिक साधरणसभाले समाजको विधान संशोधन गर्दै तीन वटा उपाध्यक्ष तथा ३१ सदस्यीय कार्य समिति बनाउने निर्णय गरेको थियो ।
-1766402789.jpg)
यसै अनुरूप समाजको उपाध्यक्षमा जगदीश गुरुङ, आसबहादुर गुरुङ र टीका मार्था गुरुङ चयन भए । महासचिव टौ ब. गुरुङ, कोषाध्यक्ष राजेश गुरुङ, युवा संयोजक मेकप्रसाद गुरुङ, आर्मी पर्सनल संयोजक उमान गुरुङ, सचिव कृष्ण गुरुङ, सहकोषाध्यक्ष केश ब. गुरुङलगायत प्रायः पदाधिकारीको पद यथावत् नै राखियो ।
सांस्कृतिक तथा मनोरञ्जन संयोजकको जिम्मा भने एकप्रसाद गुरुङलाई दिइएको छ । कार्यसमिति सदस्यलाई निरन्तरता दिँदै थप ७ सदस्य थप्दै ३१ सदस्यीय समिति बनाइएको छ ।
नवनिर्वाचित पदाधिकारीलाई निर्वाचन आयुक्त गुरुङले पद तथा गोपनीयताको शपथ गराएका थिए । प्रमुख निर्वाचन आयुक्तसहित, संस्थापक अध्यक्ष क्याप्टेन गौबहादुर गुरुङ MBE, सल्लाहकार जीतबहादुर गुरुङ, सल्लाहकार केसबहादुर गुरुङ तथा ताङतिङ कल्याणकारी कोषका अध्यक्ष मेजर वालासिङ गुरुङको निर्वाचन समितिले पदाधिकारी चयनमा सहयोग गरेका थिए ।
समाज स्थापना भएको १९ वर्ष पुगेको र १९ बर्से जवानमा जुन किसिमको जोस जाँगर हुन्छ त्यस्तै जवानी वा चुस्तता हाम्रो समाजमा पनि आओस् भन्दै नवनिर्वाचित तर्कजङले विगतमा जस्तै समाजका सदस्यबाट साथ र सहयोग पाउनेमा विश्वस्त रहेको बताए । समाजलाई अझ उचाइमा पुर्याउनेसमेत उनले प्रतिबद्धता जनाए ।

पहिलो सत्र वार्षिक साधरणसभा र दोस्रो सत्र महाधिवेशन गरी दुई चरणमा सम्पन्न भएको थियो । साधारणसभा महासचिव टौ गुरुङले सञ्चालन गरेका थिए । दोस्रो सत्र निर्वाचन आयुक्त केश ब. गुरुङले सञ्चालन गरेका थिए ।
कार्यक्रममा तमु प्हे ल्हु संघ यूकेको ल्होसार कार्यक्रमका लागि नेपालबाट आएकी रोदी कार्यक्रमका सञ्चालक एवं ताङतिङको बुहारी बालकासी गुरुङलाई स्वागत गरिएको थियो ।