लन्डन । 'फूलै फूलको बगैँचा' भनेर चिनिने बेलायतको केन्टमा बसोबास गर्ने गुरुङ समुदायको संस्था गुरुङ सोसाइटी केन्ट युकेले तमु (गुरुङ) समुदायको महान् पर्व तमु ल्होसार यही ३० डिसेम्बर २०२५ का दिन मनाउने भएको छ ।
नेपालबाट आएका लोकप्रिय गायक मौसम गुरुङको विशेष सांगीतिक प्रस्तुति, ल्होसारको शुभकामना आदनप्रदान, स्वागत, सम्मानलगायत कार्यक्रम गरी गुरुङ सोसाइटी केन्ट युकेले ल्होसार मनाउन लागेको हो । कार्यक्रम फोकस्टोन केन्टस्थित हकिङज कम्युनिटी सेन्टरमा अपराह्न ४ देखि राति ११ बजेसम्म आयोजना हुनेछ ।
यस वर्षको तमु ल्होसार कार्यक्रममा कार्यक्रमको प्रमुख अतिथिमा सोसाइटीका ज्येष्ठ नागरिक रहने जानकारी दिँदै उपाध्यक्ष एवम् कार्यक्रम संयोजक तोरण गुरुङले ल्होसारको शुभकामना आदान–प्रदान, नयाँ सदस्यहरूलाई स्वागत, जीसीएसई तथा उच्च शिक्षा हासिल गर्ने तमु विद्यार्थीहरूको सम्मान तथा समाजमा उल्लेखनीय योगदान पुर्याइरहेका व्यक्तित्वहरूलाई कदर तथा सम्मान गरिने बताए ।
कार्यक्रमलाई थप आकर्षक तथा संगीतमय बनाउन नेपालबाट बेलायत सांगीतिक यात्रामा रहेका सुमधुर स्वरका धनी चर्चित लोक तथा दोहोरी गायक मौसम गुरुङलाई विशेष अतिथि कलाकारका रूपमा आमन्त्रण गरिएको आयोजकले जनाएको छ । आफ्नै मौलिक स्वर र प्रभावशाली प्रस्तुतिका लागि परिचित मौसमको विशेष सांगीतिक प्रस्तुतिले यस वर्षको ल्होसारलाई अझै अविस्मरणीय बनाउने अपेक्षा गरिएको सोसाइटीका अध्यक्ष गोलमान गुरुङले बताए । उनका अनुसार, कार्यक्रममा केन्टवासी स्थानीय तमु कलाकारहरूको समेत बेजोड सांस्कृतिक प्रस्तुति रहनेछ।

सांस्कृतिक कार्यक्रमअन्तर्गत स्थानीय तमु युवायुवतीहरूको मौलिक नृत्य तथा सांस्कृतिक प्रस्तुति रहनेछ भने गुरुङ समुदायको परम्परागत पोसाकमा सजिएर उपस्थित हुने तमु तथा तमुस्योहरूका लागि उत्कृष्ट पोसाक पुरस्कारको व्यवस्था पनि गरिएको छ। साथै उपस्थित दर्शक स्रोताहरूका लागि भाग्यशाली ‘राफल ड्र’ कार्यक्रम समेत राखिएको आयोजक समितिले जनाएको छ।
गुरुङ समुदायले यस वर्ष सप्रि–ल्हो अर्थात् सर्प वर्गलाई बिदाइ गर्दै त–ल्हो अर्थात् घोडा वर्गलाई स्वागत गरी तमु ल्होसार मनाउँदै छन्।
कार्यक्रममा अतिथिको रूपमा केन्टमा क्रियाशील विभिन्न संघ संस्थाका अध्यक्षहरू, अश्मी ज्वेलर्सका प्रोप्राइटर साथै केन्टको फोकस्टोनमा अवस्थित फर्स्ट बटालियन द रोयल गोर्खा राइफल्स (१ आरजीआर)का गोर्खा मेजर र रेजिमेन्टल सार्जन मेजर (आरएसएम) परिवारसहित विशेष आतिथ्यका रूपमा आमन्त्रित गरिएको अध्यक्ष गुरुङले बताए ।
समाजका अध्यक्ष तथा नवौं कार्यसमितिले केन्टमा बसोबास गर्दै आइरहेका सम्पूर्ण तमु (गुरुङ) आमाबुवा, दाजुभाइ तथा दिदीबहिनीहरूलाई परिवारसहित उपस्थित भई तमु त–ल्होसारलाई भव्य र सफल बनाउन निमन्त्रणा गरेका छन् ।