पोखरा । प्रथम हिमालय ब्रुअरी तथा बाह्रौं बगर भाई खलक एट ए साइड अन्तर्राष्ट्रिय भेट्रान्स फुटबल प्रतियोगितामा आयोजक बगर भाई खलकले विजयी सुरुवात गरेको छ ।
पोखराको ऐतिहासिक पुरानो टुँडीखेल मैदानमा मंगलबारबाट सुरु भएको प्रतियोगितामा आयोजक बगर भाई खलकलले बिजयी सुरुवात गरेको हो । उद्घाटन खेलमा बगर भाई खलकले स्थानीय पोखरा ३ को गण्डकी स्पोर्टस क्लवलाई ५–१ को भारी गोल अन्तरले पराजित गरेको हो । प्रतियोगितामा भाई खलकका लागि सुजन शाक्यले ह्याट्रिक पुरा गरेका छन् । उनी खेलको म्यान अफ दि म्याच समेत घोषित भए । खेलमा मनोज कुमार गुरुङले २ गोल गरे । यता गण्डकी स्पोर्टसका लागि एक मात्र गोल उत्तम बहादुर खत्रीले गरे । त्यसै गरी आज नै भएको एक अर्को खेलमा दिप युनाइटेड विजयी भएको छ ।
दिप युनाइटेडले एक्स वारियर पोखरालाई ३–१ ले पराजित गरेको हो । खेलमा अर्जुन गुरुङ, अन्तिम गुरुङ र अशिम बजिमयले समान १–१ गोल गरे भने एक्स वारियरका तर्फबाट किशोर देव थापाले गोल फर्काए । यस अघि प्रतियोगिताको उद्घाटन गर्दै पोखरा महानगर पालिकाका प्रमुख धनराज आचार्यले ऐतिहासिक टुँडीखेल मैदानको संरक्षण अब पोखरा महानगरले गर्ने बताएका छन् । टुँडीखेलको क्षेत्रफल मानविय सगै विविध कारणले मिचिएर घटेकोतर्फ इंगित गर्दै भने–“विगतमा जुन उद्धेश्यका साथ यो टुँडीखेल मैदानको निर्माण गरियोे त्यो अहिले विचरा भएको छ । अब यसको संरक्षणको लागि महानगरको पहल गर्छ । यसमा मेरो ध्यनाकर्षण भएको छ ।” ३९ वर्ष पछि पोखरामा भएको नवौं राष्ट्रिय खेलकुदका लागि खेलस्थान नपुगेर बाहिरी जिल्ला जानु परेको सन्दर्भ अघि सार्दै प्रमुख आचार्यले टुँडीखेल जस्ता मैदानको संरक्षण गर्न सकेको भए त्यो अवस्था नहुने बताए ।
खेल क्षेत्रको विकास खेलकुदको मात्रै विकास नभई यसले समग्र मानव स्वास्थ्य संगै सामाजिक सदभाव समेत कायम गर्न भूमिका खेल्ने भएकोले समग्र खेलकुदको विकासका लागि खेलकुदका भौतिक पूर्वाधारको विकास पनि उत्तिकै महत्वपूर्ण हुने उनको भनाई थियो । सो अवसरमा प्रमुख आचार्यले अग्रज फुटबल खेलाडी खेम बहादुर गुरुङलाई सम्मान गरेका थिए । पोखरा ११ रानीपौवा निवासी गुुरुङले २०३० सालमा तत्कालिन गण्डकी अञ्चलबाट प्रतिनिधित्व गर्दै राष्ट्रिय खेल जिवनको प्रारम्भ गरेका थिए । २०६२ देखि २०७० सम्म कास्की जिल्ला फुटबल संघको अध्यक्ष समेत रहेका गुरुङ एन्फाको तर्फबाट विभिन्न अन्तर्राष्ट्रिय कार्यक्रम तथा प्रतियोगिताहरुमा नेपाली प्रतिनिधीमण्डलको रुपमा रहेका थिए ।
बगर भाई खलकका अध्यक्ष दिल बहादुर गुरुङको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा संस्थाका सल्लाहकार तथा प्रदेश खेलकुदका निवर्तमान सदस्य सचिव तेज बहादुर गुरुङ, संस्थाका महासचिव याम बहादुर गुरुङलगायतले संस्थाको गतिविधि र प्रतियोगिता माथी प्रकाश पारेका थिए । सो अवसरमा विभिन्न महानुभावहरुले ग्रासरुट फुटबल प्रशिक्षणका लागि स्थापना गरिएको अक्षयकोषका लागि नगद सहयोग गरेका थिए । स्वास्थ्यका लागि एक घन्टा व्ययाम, नागरिकहरुका लागि नौलो आयाम भन्ने नाराका साथ सुरु भएको “प्रथम हिमालय ब्रुअरी तथा बाह्रौं बगर भाई खलक एट ए साइड अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता” माघ ८ गते सम्म सञ्चालन हुनेछ । उक्त प्रतियोगितामा भारत देहरादुनको उक टिम सहित २४ टिमको सहभागिता रहेको छ ।
प्रतियोगितामा प्रथम हुने टिमले २ लाख रुपैयाँसँगै मेडल, ट्रफी र प्रमाण–पत्र प्राप्त गर्नेछ भने द्वितीय हुने टिमले १ लाख, मेडल, ट्रफी र प्रमाण–पत्र पाउने छन् । प्रतियोगितामा उत्कृष्ट गोल किपर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट फरवार्ड, उत्कृष्ट प्रशिक्षकलाई ट्रफी सहित नगद ५ हजार प्रत्येक उत्कृष्ट खेलाडीले प्राप्त गर्ने छ । सेमिफाइनलमा पुग्ने दुइ टिमलाई २०/२० हजार आयोजकले उपलब्ध गराउने बताएको छ । हरेक खेलमा म्यान अफ दी म्याचलाई पुरस्कृत गरिने छ ।