लन्डन । माया टी–१० क्रिकेट प्रतियोगिताको दोस्रो संस्करण आगामी २ अगस्टका दिन लन्डनमा हुने भएको छ । खेल पश्चिम लन्डनको वेकम्ब हाउस क्रिकेट क्लबको मैदानमा हुनेछ ।
यस पटक नेपालको राष्ट्रिय टोलीमा रहेका र खेलिसकेका आधा दर्जन खेलाडी विभिन्न क्लबबाट मैदान उत्रिनेछन् । नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर गुल्सन झा माया क्रिकेट क्लब तथा माया टी–१० प्रतियोगिताको ब्रान्ड एम्बासडरका रूपमा लन्डन आउने भएका छन् ।
यसैगरी, राष्ट्रिय टोलीका भीम सार्की, अर्जुन साउद र रिजन ढकालले माया क्रिकेट क्लबबाट खेल्ने भएका छन् । राष्ट्रिय टोलीका इशान पाण्डे र विनोद भण्डारी एभरेस्ट राइनोजबाट खेल्ने तय भएको छ ।
यसपटक गौतमबुद्ध क्रिकेट क्लब, एभरेस्ट राइनोज, माया क्रिकेट क्लब, साथी क्रिकेट क्लब, गोर्खा केन्ट क्रिकेट क्लब र मिडल्यान्ड्स वारियर्स क्लब गरी ६ टोलीले प्रतिस्पर्धा गर्नेछन् ।
यस प्रतियोगिताले बेलायतमा रहेका नेपालीमूलका युवा खेलाडीलाई राष्ट्रिय स्तरका खेलाडीसँग खेल्ने र अनुभव हासिल गर्ने अवसर प्रदान गर्ने आयोजक माया इभेन्टस एवं माया क्रिकेट क्लबका संस्थापक राज पाण्डेले बताए ।
उनका अनुसार विजेताले ३ हजार पाउन्ड नगद पुरस्कार प्राप्त गर्नेछ । प्रतियोगितास्थलमा नेपाली खानाका साथै विभिन्न मनोरञ्जन कार्यक्रम तथा बालबालिकाका लागि फेस पेन्टिङ, बाउन्सी क्यासललगायत आकर्षण पनि रहनेछन् ।
माया इभेन्ट्स संस्थापक डा. रक्षा थापाले यस वर्षको प्रतियोगितालाई अझ भव्य, विशेष र गुणस्तरीय बनाउने तयारी गरिएको बताइन् । प्रवेश नि:शुल्क गरिएको छ ।
बुधबार अल्डसटमा क्लबका संस्थापक राज पाण्डे र संस्थापक डा. रक्षा थापाले तमु धीं यूकेका अध्यक्ष जुमकाजी गुरुङ, ट्रस्टी सूर्य गुरुङ, उपाध्यक्ष कमल गुरुङ, सल्लाहकार दिलराज गुरुङ, सचिव विमल गुरुङ र गोर्खा मिडियाका प्रबन्ध निर्देशक मिलन तमुलाई निमन्त्रणासेत दिएका छन् । सो अवसरमा पाण्डे र थापाले प्रतियोगितामा उपस्थित भई सफल बनाउन अनुरोधसमेत गरेका थिए ।