लन्डन । आइरनम्यान वर्ल्ड च्याम्पियनसिप, कोना, हवाईका लागि छनोट हुँदै नेपाली खेलाडी तथा लन्डन बस चालक सन्तोष राईले ऐतिहासिक सफलता हासिल गरेका छन्।
अगस्ट १६, २०२६ आइतबार सम्पन्न आइरनम्यान लिड्स २०२६ मा राईले आफ्नो उमेर समूहमा दोस्रो स्थान हासिल गर्दै आगामी अक्टोबर १०, २०२६ मा हवाईको कैलुआ, कोनामा हुने आइरनम्यान वर्ल्ड च्याम्पियनसिपका लागि स्थान सुरक्षित गरेका छन्।
विश्वकै कठिन आइरनम्यान प्रतियोगितामध्ये एक मानिने लिड्स प्रतियोगितामा सामान्यतया ३.८ किलोमिटर पौडी, १८० किलोमिटर साइकल र ४२.१९५ किलोमिटर दौड गरी कुल २२६ किलोमिटरभन्दा बढी दूरी पार गर्नुपर्ने हुन्छ। तर, पानीको सुरक्षासम्बन्धी कारण यसपटक पौडी प्रतियोगिता रद्द गरिएको थियो। त्यसपछि प्रतियोगिता साइकल र दौडमा सीमित भएको थियो।
चुनौतीपूर्ण मौसम तथा कठिन भूभागका बाबजुद राईले उत्कृष्ट प्रदर्शन गर्दै आफ्नो उमेर समूहमा दोस्रो तथा समग्रमा ५१औँ स्थान हासिल गरे। यो उनको आइरनम्यान वर्ल्ड च्याम्पियनसिपका लागि छनोट हुने पहिलो प्रयास थियो।
यस सफलतासँगै राई आइरनम्यान वर्ल्ड च्याम्पियनसिपका लागि छनोट हुने पहिलो नेपाली तथा पहिलो लन्डन बस चालक बनेका छन्।
“यो मेरो लागि अत्यन्तै गर्वको क्षण हो। समर्पण, कडा मेहनत र निरन्तरताका साथ अघि बढ्ने हो भने कुनै पनि कुरा असम्भव छैन भन्ने विश्वास दिलाउन मेरो यात्राले अरूलाई पनि प्रेरणा दिनेछ भन्ने आशा गरेको छु,” राईले भने।
-1787043301.jpg)
आइरनम्यान वर्ल्ड च्याम्पियनसिप विश्वभरका ट्रायथलिटहरूको सपना तथा यस खेलको सर्वोच्च गन्तव्यका रूपमा लिइन्छ। सन् २०२६ को वर्ल्ड च्याम्पियनसिप अक्टोबर १०, २०२६ शनिबार हवाईको कैलुआ,कोनामा आयोजना हुँदैछ।
राईले सन् २०२४ मा पहिलोपटक अन्तर्राष्ट्रिय स्तरमा नेपालको प्रतिनिधित्व गर्दै अस्ट्रेलियाको टाउनसभिल, नर्थ क्वीन्सल्यान्डमा आयोजित वर्ल्ड च्याम्पियनसिप लङ डिस्टेन्स ट्रायथलनमा सहभागिता जनाएका थिए। उनले त्यहाँ एलिट विधामा प्रतिस्पर्धा गर्दै शीर्ष १३ भित्र स्थान बनाउन सफल भएका थिए।
त्यसैगरी, गत वर्ष स्पेनको पोन्तेभेद्रामा आयोजित वर्ल्ड च्याम्पियनसिप लङ डिस्टेन्स ट्रायथलनमा पनि राईले नेपालको प्रतिनिधित्व गरेका थिए। उक्त प्रतियोगितामा ४०–४४ वर्ष उमेर समूहबाट प्रतिस्पर्धा गर्दै उनले शीर्ष १७ भित्र स्थान हासिल गरेका थिए।
राई नेपाल रन यूकेका संस्थापकसमेत हुन्। उनले लन्डन म्याराथनको ४५औँ संस्करणमा नेपालको राष्ट्रिय पोसाक दौरा सुरुवाल लगाएर दौड पूरा गर्दै गिनिज वर्ल्ड रेकर्डसमेत कायम गरेका छन्।
सन् २००९ देखि दौडमा सक्रिय राई विश्वका प्रमुख ६ वटा म्याराथन लन्डन, बर्लिन, न्युयोर्क, शिकागो, बोस्टन र टोकियो पूरा गर्ने पहिलो नेपालीका रूपमा पनि चिनिन्छन्।
नेपाल रन यूकेले नेपालमा ‘७ दिनमा ७ प्रदेशमा ७ म्याराथन’ आयोजना गर्ने अभियानसमेत सुरु गरेको छ, जसमा राईले दुईपटक सहभागिता जनाइसकेका छन्।
लगातार अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्दै आएका राईको आइरनम्यान वर्ल्ड च्याम्पियनसिपमा छनोट हुनु नेपाली खेलकुदका लागि समेत महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ।
अब उनले अक्टोबर १० मा हवाईको कैलुआ कोनामा विश्वका उत्कृष्ट आइरनम्यान खेलाडीहरूसँग प्रतिस्पर्धा गर्नेछन्।