बेलायत । बेलायती राजाले ब्रिटिस सेनाका मेजर रिटायर्ड हितमान गुरुङलाई ’अर्डर अफ द ब्रिटिस एम्पायर’ एमबिई उपाधि प्रदान गरेका छन् ।
ब्रिगेड अफ गोर्खाजमा सन् १९७३ देखि २००२ सम्म पुर्याएको उदाहरणीय सेवा र अवकाशपछि गोर्खा सैनिक तथा उनीहरुका परिवारको हितमा गरेको कार्यको उच्च मूल्याङ्कन गर्दै गुरुङलाई सो उपाधि दिइएको हो । बेलायती सेनाको बिजीएन परिवारले गुरुङलाई यो प्रतिष्ठित सम्मान मिलेकोमा बधाई दिएको छ । गुरुङले करिब ३ दशक लामो सैनिक सेवाका क्रममा विश्वका विभिन्न स्थानमा भएका सैन्य अप्रेसनमा महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।
सैनिक सेवाबाट अवकाश पाएपछि उनले नेपालमा स्वेच्छिक रुपमा ’रोयल गोर्खा राइफल्स रेजिमेन्टल एसोसिएसन’ स्थापना गरी त्यसको नेतृत्व गरेका थिए । उनले गरेको यो कार्यले बेलायती सेना र नेपालको प्रतिष्ठा र सम्बन्धलाई अझ प्रगाढ बनाउन मद्दत पुगेको बिजीएनले जनाएको छ । विशेषगरी अफगानिस्तान युद्धका क्रममा ज्यान गुमाएका वा घाइते भएका गोर्खा सैनिकका परिवारलाई उनले ठूलो सहयोग पुर्याएका छन् ।
पीडित परिवार र सहायता निकायबीच सञ्चारको माध्यम बनेर गुरुङले उनीहरुलाई आवश्यक राहत र सहयोग दिलाउन समन्वयकारी भूमिका निर्वाह गरेका थिए । उनले २ दशकसम्म निःस्वार्थ रुपमा गोर्खा समुदायको सेवामा आफूलाई समर्पित गरेको बताइएको छ । बिजीएनले गुरुङलाई गोर्खा सैनिकको एउटा उत्कृष्ट नमुनाका रुपमा चित्रण गरेको छ ।
ब्रिटिस गोर्खाज नेपालका कमान्डर कर्नेल ड्यान रेक्स एमभिओले गुरुङले प्राप्त गरेको यो सम्मान अत्यन्तै खुसीको कुरा भएको बताएका छन् । उनले भने, ‘मैले हितमान गुरुङलाई धेरै वर्षदेखि चिनेको छु र उनले पुर्याएको असाधारण सेवाको प्रत्यक्ष साक्षीसमेत हुँ । रोयल गोर्खा राइफल्स रेजिमेन्टल एसोसिएसनको अध्यक्षका रुपमा मैले उनको समर्पण, करुणा र नेतृत्वलाई नजिकबाट नियालेको छु ।’
ड्यान रेक्सका अनुसार गुरुङले अफगानिस्तान युद्धमा आफ्ना प्रियजन गुमाएका गोर्खा परिवारका लागि दृढ सहयोगीका रुपमा काम गरेका छन् । उनले अगाडि भने, ’आफ्नो नम्रता र निस्वार्थ भावनामार्फत उनले गोर्खा परिवारबीचको सम्बन्धलाई बलियो बनाएका छन् । उनी नेपाल र संयुक्त अधिराज्य दुवैका लागि एक उत्कृष्ट राजदूत हुन् ।’ गुरुङले पाएको यो सम्मानले सम्पूर्ण गोर्खा समुदायमा खुसीयाली छाएको ड्यान रेक्सले बताए ।
